पर्सा – लक्ष्मीपूजाको दिन। उल्लासमय वातावरण। बत्तीको झिलिमिली चारैतिर फैलिएको थियो। तर, पर्साको बहुदरमाई नगरपालिका–८ रामनगरीका मनबोध साहको घरमा एकाएक अध्याँरो छायो।
मनबोधले आफ्नी १५ वर्षीया छोरी मनाकुमारी साहलाई लक्ष्मीपूजाकै दिन गुमाउन पुगे। लक्ष्मीपूजामा बालिएको दीयोले आफ्नी ‘लक्ष्मी’ अर्थात् छोरी गुमाए। घटना शनिबार राति भएको हो।
लक्ष्मीपूजापछि घरमा बालिएको दियोबाट आगालागी हुँदा साहको ज्यान गएको हो। घरमै सुतिरहेकी उनको जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। घरका अन्य सदस्य भागेर बच्न सफल भएका थिए।
जताजतै तिहारको रौनक छाइरहेका बेला मनोबोधको घरमा शोक छाएको छ। घरकी लक्ष्मी गुमाउँदा यतिबेला उनको परिवार पीडामा छ।