नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीमाथि संगीन आरोप लगाएपछि युवा नेता प्रतिवादमा उत्रिएका छन्।
नेकपाका युवा नेता तथा अनेरास्ववियुका संयोजक ऐन महरले अध्यक्ष प्रचण्डको प्रस्तावमा गम्भीर असहमति व्यक्त गर्दै आक्रामक धारणा प्रस्तुत गरेका छन्।
‘इतिहास साक्षी छ, जब कमरेड (प्रचण्ड) ले कार्यकारीको जिम्मा पाउनुहुन्छ, अनि निर्माण होइन ध्वंस गर्नु भएको छ, चाहे पार्टी होस् या देश,’ महरको मत छ, ‘तर, नेकपा ध्वंस गर्न सम्भव छैन, यसपटक कमरेडको इतिहासको क्रमभंग हुनेवाला छ, बरु चोइटिन सक्नुहुन्छ।’
संयोजक महरले नेकपाभित्रको शक्तिसंघर्ष पदलोलुपताले सिर्जना भएको बताउँदै प्रधानमन्त्री ओलीका विरुद्ध हुने जस्तोसुकै घेराबन्दीको प्रतिवाद र प्रतिरोध गर्न युवापंक्ति तयार रहेको प्रष्ट पारेका छन्। ‘जनादेशको सम्मान गर्न म सबैलाई आग्रह गर्दछु,’ महरले नेपाली पब्लिकसँग भने।
यसअघि, नेकपाका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत् धारणा राख्दै प्रचण्डले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरीत सचिवालय बैठकमा प्रधानमन्त्री ओलीविरुद्ध आरोप लगाएको टिप्पणी गरेका थिए।
‘प्रचण्डले एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गम्भीर मोडमा पुगेको अनुभूति सिंगो पार्टी पंक्तिले गरिरहेको छ, म कमरेड प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि बैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्ता गरी एकताको मर्म अनुरुप छलफललाई अघि बढाउन हार्दिक अनुरोध गर्दछु,’ पोखरेलले लेखेका छन्, ‘व्यक्तिगत पत्र र संस्थागत प्रस्ताव फरक विषय हो भन्ने सत्य बुझ्न अनुरोध छ।’