हङकङको एक रेस्टुरेन्टमा आइतबार राति आगलागी हुँदा कम्तिमा सात जनाको मृत्यु भएको छ। अठार जना घाइते भएका छन्।
जसमध्ये अधिकांश नेपाली रहेका छन्। आगलागीबाट ९ वर्षीय बालकसहित सात जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा चार पुरुष र तीन जना महिला रहेका छन्।
त्यस्तै गम्भीर अवस्थामा तीन पुरुष र चार महिलाको अस्पतालमा उपचार भइरहेको छ। केही घाइते डिस्चार्ज भएका छन्। क्यान्टोन रोडस्थित याउ मा तेइ गल्लीमा रहेको नेपालीले सञ्चालन गरेको रेस्टुरेन्टमा आगलागी भएको हो।
जन्मदिन मनाउने क्रममा बालिएको मैनबत्तीबाट आगलागी भएको बताइएको छ। गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले निधन हुनेहरू सबै नेपाली भएको पुष्टि गरेका छन्।
नोभेम्बर १५ राति हङकङको जोर्डनस्थित एक रेस्टुराँमा आगलागी हुँदा आठजना नेपालीको दुःखद निधन भएको जानकारी आएको पन्तले बताएका छन्।
अध्यक्ष पन्तले सो घटनामा गैरआवासीय नेपाली संघले उद्धार, राहत र दुवैतर्फका सरकारसँग संयोजनको पहल गरिरहेको बताएका छन्।
र, संघको राष्ट्रिय समन्वय परिषद हङकङकी अध्यक्ष टीका गुरुङ घाइतेहरूको उपचार भइरहेको अस्पतालमा रहेकी छिन्। साउथ चाइना मर्निङ पोस्टले हताहती हुनेहरूमध्ये धेरै जसो नेपाली भएको उल्लेख गरेको छ।
हङकङ प्रहरीका एक प्रवक्ताले उक्त रेस्टुरेन्टले सञ्चालन अनुमति लिएको थियो कि थिएन भन्नेबारे अनुसन्धान भइरहेको बताएका छन्।
सो आगलागी हङकङमा गत एक दशकयता भएका सबैभन्दा खराब आगलागीहरूमध्ये एक भएको सरकारी अधिकारीहरूको भनाई छ।