काठमाडाैं- दिदी बहिनी नहुने दाजुभाइले आज बालगोपालेश्वर मन्दिरमा गएर पूजाआजा गरी भाइटीका लगाउने प्रचलन रहेको छ । रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर (मंगलबार) बिहान ५ बजेदेखि साँझ ५ बजे सम्म खुल्ला हुने भएको हो। यसपटक सोमबार र मंगलबार टीका लगाउने भएपछि मन्दिरलाई दुई दिन नै खुल्ला गरिएको हो ।
नेवार समुदायका केही समूहले आज (मंगलबार) भाइटीका लगाउने भएका छन् । मंगलबार बिहान पनि केही समय द्वितीया तिथि रहेकाले नेवार समूदायका केही समूहले आज भाइटीका लगाउने भएका हुन । नेवार समुदायको भाइटीका (किजा पूजा) का लागि सरकारले आज पनि देशभर सार्वजनिक बिदा दिएको छ।
हरेक वर्ष भाइटीकाको दिन मात्र खुल्ने यो बालगोपालेश्वर मन्दिर २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएपछि ५ वर्ष सम्म पुननिर्माणका कारण बन्द भएको थियो। तर अहिले पुननिर्माणको काम सम्पन्न भएपछि तिहारमा टीका लागउने सर्वसाधारणका लागि खुल्ला गरिएको छ ।
पाँच वर्षपछि पुनः बालगोपालेश्वर मन्दिरमा पूजाआजा गरी भाइटीका लगाउन पाउँदा सर्वसाधारणहरु खुशी भएका छन । यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिम ध्यानमा राखी स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड लागू गरी टीका लगाउने व्यवस्था गरिएको छ ।