एजेन्सी– कोरोना कहरका कारण वर्ष २०२० सबैका लागि बिर्सनलायक वर्ष बन्यो। हरेक क्षेत्र कोरोना महामारीको चपेटामा प¥यो। सिनेमा क्षेत्रको लागि यो वर्ष सम्झनलायक रहेन।
यस वर्ष फिल्म उद्योग र फिल्मकर्मीको लागि निकै कठिन बन्यो। बलिउड फिल्म उद्योग पनि कोरोनाबाट अछुतो रहन सकेन। वर्ष २०२० मा बलिउडमा थोरै संख्यामा फिल्म रिलिज भए। तीमध्ये केहि फिल्मले मात्रै राम्रो कमाई गर्न सफल भए।
वर्ष २०२० को जनवरीदेखि मार्चसम्म बलिउडमा अजय देवगनको ‘तान्हाजी– दि अनसङ्ग वारियर’, टाइगर श्राफको ‘बागी–३’, वरुण धवन र श्रद्धा कपूरको ‘स्ट्रिट डान्सर थ्रिडी’, आयुष्मान खुरानाको ‘शुभ मंगल ज्यादा सावधान’, कार्तिक आर्यन र सारा अली खानको ‘लव आज कल’, दिपीका पादुकोणको ‘छपाक’, कंगना रनावतको ‘पंगा’, सैफ अली खानको ‘जवानी जानेमान’, इरफान खानको ‘अंग्रेजी मिडियम’ रिलिज भयो।
माथि उल्लेखित फिल्महरुमध्ये अजय देवगनको ‘तान्हाजी– दि अनसङ्ग वारियर’ धेरै दर्शकले रुचाएका थिए। १० जनवरीमा रिलिज भएको उक्त फिल्मले करिब २ सय ८० करोड भारु कमाई गर्न सफल भयो। अजय देवगनको करियरकै सर्वाधिक सफल यस फिल्म बलिउडको वर्ष २०२० को सबैभन्दा सुपरहिट फिल्म मान्न थालिएको छ।
बलिउडमा यस वर्ष अब ठूला फिल्महरु हलमा प्रदर्शन हुने सम्भावना कम छ। हलले थोरै रकममा फिल्म देखाएर दर्शकलाई हलतिर आकर्षित गर्ने प्रयास गरेपनि कोरोनाको जोखिमका कारण दर्शक हलसम्म जान तयार देखिएका छैनन्। वर्षको अन्त्यसम्ममा कुनै ठूलो फिल्म प्रदर्शन नभएमा बलिउडमा अजय देवगनको ‘तान्हाजी– दि अनसङ्ग वारियर’ नै यस वर्षको सबैभन्दा हिट फिल्म बन्नेछ।
अजय देवगनको ‘तान्हाजी– दि अनसङ्ग वारियर’ पछि टाइगर श्राफको ‘बागी–३’ ले करिब ९६.८७ करोड भारु कमायो भने वरुण धवन र श्रद्धा कपूरको ‘स्ट्रिट डान्सर थ्रिडी’ले करिब ७५ करोड भारु कमाइ गर्न सफल भयो। त्यस्तै आयुष्मान खुरानाको ‘शुभ मंगल ज्यादा सावधान’ले ६२.५० करोड कमायो।