डडेलधुरा– भाइटीको दिन। गाउँभरि भाइटीका लगाउन जाने आउनेको लर्को थियो। डडेलधुरा परशुराम नगरपालिका–७ की पार्वती पुन मगर पनि त्यही लहरमा थिइन्।
भाइटीका लगाइदिएर घर फर्किने हतारो पनि उनलाई थियो। गाउँघरमा भाइटीका लगाएपछि कोही तास खेल्न जुटेका थिए। कोही पीङमा मच्चिँदै थिए। कोही मदिरामा लठ्ठ भएर बसेका देखिन्थे।
भाइटीका लगाएर घर फर्किएकी पार्वती अब यो संसारमा छैनन्। सामान्य विवादमा आफ्नै पतिले ज्यान नै लेलान् भन्ने उनलाई लागेको थिएन। तर, मध्यरातमा उनले कुटाइको पीडा सहन नसकेर अन्तिम श्वास फेरिन्।
इलाका प्रहरी कार्यालय जोगबुडाका अनुसार सोमबार राती परशुराम नगरपालिका–७ साँदनी ठुलागडा टोल बस्ने ४५ बर्षीया करन पुन मगरले अत्याधिक मदिरा सेवन गरेर ४० वर्षीया श्रीमती पार्वती पुन मगरको हत्या गरेका हुन्।
पार्वती र अत्याधिक मदिरा सेवन गरेका उनका पतिबीच सामान्य विवाद भएको थियो। विवादका क्रममा करनले कुटपिट गरी भित्तामा टाउको ठोक्काएर श्रीमतीको प्राण लिएको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिएका छन्।
खबर पाएपछि घटनास्थल पुगेको प्रहरीले करनलाई नियन्त्रणमा लिएको छ भने शवलाई पोष्टमार्टमका लागि जोगबुडा अस्पताल पठाएको छ। घटनाबारे थप अनुसन्धान गरिने र हत्यामा संलग्न पुनमगरलाई कर्तव्य ज्यान मुद्दामा कारवाही अघि बढाउने प्रहरीले जानकारी दिएको छ। पार्वती र करनका चार छोरा र दुई छोरी छन्।