काठमाडौं– बंगलादेशविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको सिरिज उपाधि नेपालले गुमाएको छ। बंगलादेशमा भएको सिरिजको दोस्रो खेल गोलरहित बराबरी खेल्दै नेपालले समग्रमा दुई खेलको सिरिज उपाधि गुमाएको हो।
कार्तिक २८ गते भएको पहिलो खेलमा नेपालले बंगलादेशसँग २–० गोलको हार बेहोरेको थियो। सिरिजमा पुनरागमन गर्नका लागि नेपालले मंगलबार (आज) को खेलमा बंगलादेशलाई २–० को गोलअन्तरले पराजित गर्नुपर्ने थियो। नेपालले मंगलबारको खेलमा बंगलादेशलाई २ गोलको अन्तरमा हराउन सकेको भए सिरिजको विजेता टाइब्रेकरबाट निर्धारण हुन्थ्यो।
तर नेपालले अपेक्षाकृत प्रदर्शन गर्न सकेन र सिरिजको उपाधी गुमायो। बंगलादेशविरुद्धको नेपालको खेल फिफा विश्वकप २०२२ को छनोटको तयारीका रुपमा हेरिएको थियो। टिममा नयाँ खेलाडीहरु भित्रिए पनि खेल आक्रामक नभएको फुटबल विश्लेषक बताउँछन्। नेपालले खेलमा धेरै कुराहरु सुधार गर्नुपर्ने देखिएको छ।