नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन्।
प्रधानमन्त्री केपी ओलीले बुधबारका लागि निर्धारित सचिवालय बैठकको स्थगित गर्न आग्रह गरिरहेका बेला अध्यक्ष प्रचण्डले राष्ट्रपति भण्डारीलाई भेटेका हुन्।
नेकपा सचिवालय बैठकको पूर्व सन्ध्यामा राष्ट्रपति भण्डारी र प्रचण्डबीच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
प्रधानमन्त्री ओलीले मंगलबार नेकपा महासचिव एवं अर्थमन्त्री विष्णु पौडेललाई बुधबारको बैठक सार्नका लागि प्रचण्डलाई आग्रह गर्न पठाएका थिए। प्रचण्ड सबै विषय सचिवालय बैठकमै छलफल गर्नुपर्ने अडान राखेका छन्।
प्रधानमन्त्री ओलीले गत कात्तिक २९ गते राष्ट्रपति भण्डारीसँग छलफल गरेका थिए। राष्ट्रपति कार्यालय स्रोतका अनुसार भण्डारीले अध्यक्ष प्रचण्डलाई पार्टी एकता जोगाउन आग्रह गरेकी छिन्।
प्रचण्डले पनि प्रधानमन्त्री ओलीको कार्यशैली सुधारका लागि भूमिका खेल्न आग्रह गरेको स्रोतको भनाई छ।