एक समय यस्तो थियो अर्जेन्टिनी फुटबल स्ट्राइकर लियोनल मेसी र स्पेनिस क्लब बार्सिलोना एक अर्काका परिपूरक लाग्थ्यो। क्लबले मेसीलाई दिएको प्राथमिकता अनि मेसीले क्लबलाई दिएको योगदानले यी दुई एकै रथका दुई पाङ्ग्रा जस्तै थिए।
क्लबले मेसीलाई गरेको सहयोग अनि मेसीले क्लबलाई दिलाएको ऐतिहासिक सफलताले फुटबल जगतमा एक क्लब र एक खेलाडी सदैव चर्चामा रहे।
मेसीलाई विश्व फुटबल जगतमा परिचित गराउन बार्सिलोनाले गरेको सफल प्रयास अनि बार्सिलोनालाई सफलताका सिढीँ चढाउन लामो यात्राको सहयात्री बनेका मेसीबीच दरार आउला भन्ने कसैले सोचेको थिएन।
तर अहिले समय फरक छ अनि परिस्थिति पनि। मेसीले आफ्नो फुटबल करियर बार्सिलोनामा नै अन्त्य गर्छन् भन्ने कुरामा कुनै तुक छैन। लामो समयदेखि क्लब व्यवस्थापनसँग असन्तुष्ट रहेका मेसीले गत अगस्टमा बार्सिलोना छोड्न चाहेको भन्दै क्लबलाई एक पत्र पठाए।
क्लब प्रतिस्पर्धामा बार्सिलोनाको कमजोर प्रदर्शनले पनि मेसीलाई क्लब छोड्ने निर्णयका लागि उत्प्रेरित गर्यो। तर ला लिगाले मेसीलाई बार्सिलोनाबाट सहज बर्हिगमन हुन दिएन। कानुनी लडाइँको विकल्प नभएको अवस्थामा मेसीले बार्सिलोना नै रहने निर्णय गरे।
तर, मेसीले बार्सिलोनाबाट जारी सिजन (२०२०/२०२१) मात्रै फुटबल खेल्ने अनुमान गरिएको छ। मेसीको बिदाइका लागि ला लिगा पनि तयार रहेको खबर आएसँगै मेसीले अर्को सिजन बार्सिलोना छोड्ने सम्भावना उच्च रहेको सहज अनुमान गर्न सकिन्छ।
ला लिगाका अध्यक्ष जेभिएर तेबासले बार्सिलोनाका कप्तान लियोनल मेसीलाई बिदाइ गर्न तयार रहेको बताएका छन्। तेबासले मेसी ला लिगामा रहुन् भन्ने चाहेको तर उनीबिना पनि ला लिगा निरन्तर अघि बढिरहने जानकारी दिए।
सन् २०१७ मा नेयमार बार्सिलोनाबाट पेरिस सेन्ट जर्मन र २०१८ मा क्रिस्टियानो रोनाल्डो रियल मड्रिड छोडेर जुभेन्टस गएपनि प्रतिस्पर्धा चलिरहेको उनको भनाइ छ।
‘मेसी ला लिगामा नै रहुन् भन्ने हामी चाहान्छौं, तर रोनाल्डो र नेयमारले छोडेपनि हामीले केहि फरक महशुस गरेनौं,’ उनले भने, ‘हामी मेसीको बदाइका लागि तयार छौं।’
३३ वर्षीय मेसी सिजनको अन्त्यमा सम्भवतः ‘फ्रि ट्रान्सफर’का लागि उपलब्ध हुनेछन्।