काठमाडौं– खुलामञ्चमा निःशुल्क खाना खुवाउँदै आएका संस्थाहरू र महानगरपालिकाबीचको सहमति अनुसार आजबाट परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली नजिकै निःशुल्क भोजन गराउने कार्य शुरू भएको छ।
खुलामञ्चको सट्टामा उक्त ठाउँमा खाना खुवाउन थालिएको हो। कोरोना महामारीको चपेटामा परी रोजगारी गुमाएका र गरिब तथा असहायलाई टिम नेपालले बिहानमा र हन्ड्रेड ग्रुप नामको संस्थाले साँझको खाना खुलामञ्चमा खाना खुवाउँदै आएका थिए।
तर, खुलामञ्चमा खाना खुवाउँदा लाजमर्दो भएको भन्दै महानगरले त्यहाँ खाना नखुवाउन निर्देशन दिएको थियो। महानगरकाे उक्त कदमकाे विराेध भएपछि त्यसकाे विकल्पमा थापाथली नजिकै खाना खुवाउन थालिएकाे हाे।