कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–८ स्थित बैजनाथ सामुदायिक वन उपभोक्ता समूहले अपाङ्गता तथा फरक क्षमता भएका उपभोक्तालाई उपलब्ध गराउँदै आएको भत्ताको रकम दोब्बर बढाएको छ।
सामुदायिक वनले स्थापना गरेको राहत कोषबाट १६ जना अपाङ्गता तथा फरक क्षमता भएका व्यक्तिलाई रु एक हजारका दरले मासिक भत्ताको रकम उपलब्ध गराउँदै आएको थियो। भत्ताको रकममा वृद्धि गरी चालु आवमा रु दुई हजार पुर्याइएको छ।
सामुदायिक वनको हालै सम्पन्न १९औँ साधारणसभाबाट अपाङ्गता तथा फरक क्षमता भएका व्यक्तिलाई मासिक रुपमा प्रदान गरिँदै आएको भत्ताको रकम बढाउने निर्णय गरेको सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले बताए।
‘सामुदायिक वनको राहत कोषबाट भत्ताको रकम पाउँदै आएका उपभोक्तालाई नवीकरण र सूचीकृत हुन सूचना जारी गरिएको छ’, उनले भने, ‘चालु आवदेखि २० देखि २५ जना सम्मलाई भत्ताको रकम उपलब्ध गराउने लक्ष्य छ।’
सूचीकृत हुनका लागि मागिएको कागजपत्रको आधारमा भत्ताको रकम उपलब्ध गराउने व्यवस्था गरिएको अध्यक्ष महराको भनाइ छ। भत्ता प्राप्त गर्नेमा ८० वर्षीय ज्येष्ठ नागरिकदेखि पाँच वर्षका बालबालिकासमेत रहेका छन्। दृष्टिविहीन श्रीराम जोशीले बिना झन्झट सामुदायिक वनले भत्ताको रकम उपलब्ध गराएर गुन लगाएको बताए।
‘घरमै पुगेर मासिक रुपमा सामुदायिक वनका पदाधिकारीले भत्ताको रकम उपलब्ध गराउँदै आएकाछन् ’, उनले भने, ‘भत्ताको रकम पाउँदा वर्षभरिको लुगाफाटो र औषधोपचारलाई आवश्यक खर्च चलेको छ।’
सामुदायिक वनले शुरुमा अपाङ्गता भएका र फरक क्षमता भएका उपभोक्तालाई रु तीन सय र त्यस पछि रु एक हजार र हाल भत्ताको रकम वृद्धि गरी रु दुई हजार पुर्याएको छ ।
सामुदायिक वनले बौद्धिक, शारीरिक, मानसिक अपाङ्गता भएका र दृष्टीविहीनलाई भत्ताको रकम दिँदै आएको छ। आव २०७३÷७४ देखि सामुदायिक वनले अपाङ्गता भएकालाई राहत कोष खडा गरी भत्ता दिँदै आएको छ।
कोषमा काठ, दाउरा, घाँस उपभोक्तालाई बिक्री गरी आउने रकममध्ये पाँच प्रतिशत रकम राख्ने व्यवस्था गरिएको छ। विसं २०५८ मा स्थापना भएको सामुदायिक वनमा ५९६ उपभोक्ता रहेका छन। सामुदायिक वन २८८ दशमलव ६७ हेक्टर क्षेत्रफलमा फैलिएको छ।