कोशी अस्पतालमा कोरोना प्रकोप व्यवस्थापनमा कुशल नेतृत्व गरेकी डा. संगीता मिश्रा अहिले परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालकी निर्देशकको जिम्मेवारीमा छिन्। कोशी अस्पतालबाट गत जेठमा प्रसुति तथा स्त्री रोग अस्पतालमा सरुवा भएर आएपछि डा. मिश्राले अस्पतालको व्यवस्थापकीय पक्षमा रुपान्तरण गर्ने प्रयास गरिरहेकी छिन्। प्रस्तुत छ, कोरोना प्रकोपमा प्रसुति सेवा र अस्पतालको व्यवस्थापनका सन्दर्भमा निर्देशक डा. मिश्रासँग नेपाली पब्लिकले गरेको कुराकानीः
परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालमा तपाईले निर्देशकको जिम्मेवारी सम्हाल्दा कोरोना प्रकोप यति धेरै फैलिएको थिएन। अहिले संक्रमण तीव्र रुपमा फैलिएको छ। यसको व्यवस्थापन कतिको चुनौतीपूर्ण छ?
–पछिल्ला दिनहरू चुनौतीपूर्ण रहे। तर, कोशी अस्पतालको अनुभवले एकदमै काम दियो। सबैभन्दा पहिलो चुनौती अस्पतालमै पिसिआर जाँच नहुने अवस्था थियो। पिसिआर गरेको रिपोर्ट बाहिर पठाउनु पर्ने, त्यो रिपोर्ट पठाउनका लागि ४ देखि ६ दिनको समय लाग्ने भएकाले गर्भवती महिलालाई राख्न सम्भव थिएन। उनीहरूको रिपोर्ट थाहा नभएपछि स्वास्थ्यकर्मीमा एक प्रकारको अन्योलता छाएको थियो। तर, अस्पतालमा आवश्यक पूर्वाधारको प्रबन्ध गरेपछि तत्काल रिपोर्ट आउने व्यवस्था गरिएको छ। कोभिड–१९ रिपोर्ट नेगेटिभ आयो भने त्यहीअनुसार उपचार थाल्ने गरिएको छ। र, पिसिआर रिपोर्ट पोजिटिभ आयो भने सावधानीका साथ तयारी गरेर उपचार गर्ने व्यवस्था मिलाइएको छ।
म निर्देशकको जिम्मेवारीमा आउँदा बेलामा अत्ति नै अन्योल अवस्था थियो। पिसिआर परीक्षणको लामो प्रक्रिया पार गर्नुपर्ने अवस्थाको अन्त्य गर्न आफ्नै ल्याब चाहिन्छ भन्ने निष्कर्षमा पुग्यौं। कोरोना संक्रमणको प्रकोपका बीच सेवाग्राहीको संख्या घटेको थिएन। एमर्जेन्सीमा पनि दैनिक ८० देखि १ सय जना मान्छे आउँदा लगभग २० देखि ३० जनालाई चाँहि हामीले टेस्ट गर्नुपर्ने अवस्था थियो। त्यसपछि आफ्नै स्वास्थ्यकर्मीलाई संक्रमित हुँदा पनि रिपोर्ट आउनलाई कुर्नु पर्ने अवस्था आयो। अन्य प्रयोगशालामा परीक्षणको लोडले बढी थियो। सबै वस्तुस्थितिको अध्ययनपछि पिसिआर ल्याब सञ्चालन गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेर काम शुरु गर्यौं। पिसिआर ल्याब सञ्चालन गर्नुपर्छ भनेपछि काम बढ्ने भयो कहाँ हुन्छ कसरी हुन्छ भन्ने प्रश्न पनि उठेको थियो।
विस्तारै सबैलाई विश्वासमा लिएर गर्न सकिन्छ, आफ्नै पिसिआर ल्याब शुरु गर्दा सजिलो हुन्छ भन्ने अवस्थामा पुर्याएँ। पिसिआर मेसिन मात्रै काठमाडौं महानगरपालिकाले पठाइदिएको थियो। त्यो बाहेक अरुमा धेरै खर्च अस्पतालले नै गर्ने गरी प्रक्रिया अघि बढाएँ। विभिन्न प्रकारको द्विविधाका बीच एक महिनाभित्र पिसिआर ल्याब सञ्चालनमा ल्यायौं। अहिले पिसिआर ल्याबमा एकदमै राम्रोसँग काम भइराखेको छ। पटक–पटक परीक्षण गर्दा कहिले पनि तलमाथि भएको छैन।
अस्पतालमा आफ्नै पिसिआर ल्याब भएपछि कतिको सहज भएको छ?
–पिसिआर ल्याब स्थापना गरेपछि परीक्षणका लागि बाहिर जानु परेन। सेवाग्राहीहरूलाई आवश्यक परेकै बेलामा पिसिआर परीक्षणको सेवा उपलब्ध गराउन सकियो। कर्मचारीहरू खुशी पनि छन्। आफ्नौ ल्याबमा दिनहुँ टेस्ट हुन्छ। कर्मचारी र सर्वसाधरणको पनि एउटै समयमा पिसिआर परीक्षणको रिपोर्ट आउने भएकाले सम्भावित खतरा पनि आउन पाएन। कोरोना प्रकोपलाई दृष्टिगत गरी भौतिक पूर्वाधारको विकास गर्दै सेवाग्राहीलाई सहज रुपमा स्वास्थ्य सेवाको पहुँच पुर्याउने कोसिसमा लागेका छौँ। पिसिआर ल्याब स्थापनासहित आधारभूत सामग्री जडान त्यसैको प्रारम्भ हो। अहिले उपचार सेवा धेरै सहज भएको छ।
पिसिआर ल्याबका लागि अहिले कति जनशक्ति परिचालन गर्नुभएको छ? दिनमा कतिको परीक्षण हुन्छ?
–पिसिआर ल्याबका लागि पहिलेकै जनशक्तिलाई परिचालन गरिएको छ। अहिले अलिकति गाह्रो पनि भइरहेको छ। जनशक्ति व्यवस्थापनमा केही चुनौती छँदै छ। हाम्रो ल्याबका कर्मचारीलाई कामको जिम्मेवारी थप भयो। मन्त्रालयसँग कुरा गरेर कोभिड कोषबाट हाल दुई जना थप गरियो। आन्तरिक स्रोतबाट दुईजना थपिए। त्यही भएर अहिले पिसिआर ल्याबबाट ५ जनाले काम गर्दै हुनुहुन्छ।
कोही सेवाग्राही संक्रमित भएको खण्डमा स्वास्थ्य उपचारका लागि कस्तो प्रबन्ध गरिएको छ?
–पहिले संक्रमित बिरामी र सामान्य बिरामीलाई छुट्याएर राख्ने ठाउँ आवश्यक भइराखेको थियो। एउटै ठाँउमा संक्रमित र सामान्य बिरामी राखेर हेर्नुपर्ने स्थिति पनि थियो। त्यो स्वास्थ्य उपचारका लागि खतरा र चुनौतीपूर्ण थियो। त्यो एमर्जेन्सीभन्दा पहिले नै प्री भर्ना गर्नुपर्ने जरुरी भयो–रह्यो। त्यसका लागि तीन सेक्सनको अवधारणा बनायौं। सामान्य बिरामी वार्डमा गइहाल्नु भयो। जुन हामीले सामान्य जाँच गर्ने र आवश्यक उपचार गर्न सकिने भयो। दोश्रो चाहिँ शंकास्पद। जसलाई हामी सामान्य हो या इनफेक्टेड पनि हुनसक्छ, त्यसलाई एउटा ठाउँमा राख्नु पर्यो। तेस्रो, कोभिड पोजेटिभ। ती बिरामीलाई अर्को भवनमा नर्सिङ कलेज छ। र, कलेज बन्द भएकाले त्यो ठाउँलाई कोरोना संक्रमितलाई राख्ने गरी व्यवस्था गरेका छौं।
कोशी अस्पतालमा सबै किसिमका बिरामीलाई उपचार गर्नुपथ्र्यो। यहाँ महिलाहरू, त्यसमा पनि प्रसुति सेवाजस्तो संवेदनशील विषयमा काम गर्नुपर्छ। यसका चुनौतीहरू के–के रहेछन्?
–कोभिड संक्रमणको जोखिमकै कारण मानिसमा ठूलो त्रास छ। कुनै महिलालाई ज्वरो आयो भने काठमाडौंका जुनसुकै अस्पतालले लिँदैनन्। नाम चलेकै अस्पतालले पनि कोभिड संक्रमणको आशंका लागेमा अस्पतालमा उपचार गर्न मान्दैनन्। हामीले त देशभरिकै बिरामीको उपचार गर्नुपर्छ। नाई भन्नै मिल्दैन। यो हाम्रो नैतिक जिम्मेवारी हो। सबै नर्सिङ होमबाट रेफर आएका बिरामीको स्वास्थ्योपचार गर्नु हाम्रो जिम्मेवारी हो। कोभिड–१९ ले मल्टी सिस्टम रोगका रुपमा देखा परेको छ। त्यसले फोक्सो र मिर्गौलालाई असर पार्न सक्छ। शरीरका अन्य भागमा पनि असर देखिन सक्छ। यसबीचमा हामीसँग फिजिसियन पनि पर्याप्त उपलब्ध नभए पनि कामलाई निरन्तरता दिइरहेको थियौं। त्यसपछि मन्त्रालयसँग समन्वय गरेर हामीले एक जना फिजिसियन डाक्टरलाई झिकाउन पायौं। अर्को चाहिँ, कोभिड संक्रमित बिरामीको अवस्था अलिकति नाजुक भयो भने पनि उपचारमा चुनौती देखा पर्न सक्छ। हामीसँग आइसियू, डायलासिससहितको ठूलो साइजको मेसिनको सुविधा छैन। यदि त्यस्तो परिआएको खण्डमा पाटन अस्पताल र शिक्षण अस्पतालसँग समन्वय गरेर आवश्यक स्वास्थ्य सेवा दिइरहेका छौँ।

कोरोना प्रकोपले अनेक किसिमका मानसिक तनाव सिर्जित छ। यस्तो बेला प्रसुति सेवा लिन आउने महिलाहरूको आत्मविश्वास अभिबृद्धिका लागि के–कस्ता उपाय अवलम्बन गर्नु भएको छ?
–सबैभन्दा पहिला, प्रसुति गृहमा कोभिड र ननकोभिडका बिरामीलाई छुट्टाछुट्टै राखेर उपचार गरिन्छ भन्ने जानकारी सबैलाई दिइएको छ। संक्रमित र सामान्य बिरामीलाई अलग राखेर उपचार गरेपछि सेवाग्राही मानसिक तनावबाट मुक्त हुनुहुन्छ। एउटा सेवाग्राहीले अर्को सेवाग्राहीलाई कोभिड होइन भनेर विश्वास गर्ने वातावरण बन्छ। र, ढुक्क भएर सेवा लिन सक्छन्।
कोरोना संक्रमित र सामान्य बिरामीलाई उपचार गराउने जनशक्तिको व्यवस्थापन कसरी गरिएको छ?
–कोभिड र ननकोभिडमा काम गर्ने स्वास्थ्यकर्मी पनि अलग–अलग हुनुहुन्छ। कामका दौरान १ सय ५० जति स्वास्थ्यकर्मी कोरोना संक्रमित भइसक्नु भाको छ। त्यस कारण बेला–बेला जनशक्तिको कमी हुने भइरहेको छ। यस्तै चुनौतीका बीच हामीले काम गरिरहेका छौं।
संक्रमण फैलिन नदिनका लागि के–कस्तो व्यवस्था गरिएको छ?
–कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि आवश्यक मापदण्डलाई यहाँ पनि लागू गरिएको छ। भौतिक दुरी, हात धुने व्यवस्था लगायत अन्य आवश्यकीय कार्यको व्यवस्था मिलाएका छौं। मलाई हुँदैन अरुलाई मात्रै कोरोना संक्रमण हुन्छ भन्ने सोचले पनि स्वास्थ्य मापदण्डको कार्यान्वयन प्रभावकारी हुन नसकेको हो। सबैले सचेतता अपनाएमा कोरोना संक्रमण फैलिन पाउँदैन। त्यसैले भीडभाड व्यवस्थापनदेखि अन्य सबै सुरक्षाका मापदण्डहरू प्रभावकारी बनाउने प्रयासमा हामी छौं। जानकारीमूलक सन्देशहरू राखिएको छ। सकेसम्म सेवाग्राहीलाई सुरक्षित राख्नमै हामी प्रयत्नशील छौं।
भौतिक पूर्वाधार तथा अस्पतालको आन्तरिक व्यवस्थापनका लागि के–के गर्नु भएको छ? यसबीचमा कति सेवाग्राही लाभान्वित भए?
–नियमित सेवा प्रवाहमा समस्या छैन। गर्भवती महिलाका लागि सिजरिङ गर्न र नर्मल डिलेभर गराउने व्यवस्थापन गर्ने क्राइट एरीया हामीले बनाएका छौं। अहिलेसम्मको १ सय ४ जना महिलाहरुले सेवा लिनु भएको छ। १ सय ४ जनामध्ये लगभग २८ जनाको नर्मल डिलेभरी भएको छ। गाइनोको शल्यक्रिया तथा अन्य नियमित स्वास्थ्यसेवा चलिरहेको छ। यो बाहेक हामीले २ सय वटा आइसोलेसन शैय्या निर्माणमा लागि रहेका छौं। कुनै महिलालाई अरु कारणले कोभिड भएमा उपचारको व्यवस्था गर्नकै लागि आइसोलेसन निर्माण गरेका हौं। त्यस बाहेक ५० बेडको एचडियू स्थापना गर्न लागिरहेका छौं। टेण्डर प्रक्रिया शुरु गरिसकेका छौं। अस्पतालमा आउने वा बाहिरका बिरामीलाई पनि राख्ने गरिको व्यवस्था मिलाउँदै छौं। सबैभन्दा महत्त्वपूर्ण अक्सिजन प्लान्ट हो। पहिले थियो। तर, बिग्रेको थियो। त्यसलाई मर्मत गरेर २४सैं घण्टा अक्सिजन उत्पादन गर्ने व्यवस्था मिलाएका छौं। सकेसम्म अरु अस्पताललाई पनि सहयोग गर्ने प्रबन्ध गरिएको छ।