यमपञ्चकको अन्तिम दिन, भाइटीका। उल्लासमय वातावरण थियो। घरछिमेकमा ढकमक्क फुलेका सयपत्री फूल। र, पर्वको रौनक।
चन्द्रागिरि नगरपालिका–२ बसुण्डोलकी एक बालिकालाई बिहानसम्म तिहारको उल्लासले घेरेको थियो। तर, भाइटीकाको खुशियाली र हर्षोल्लासको दिन उनका लागि जीवनभरको घाउ बनिदियो।
चन्द्रागिरि नगरपालिका–२ बसुण्डोलकी १४ वर्षीया बालिका कसैको बाहुपासमा परिन्। सोच्दै नसोचेको घटनापछि अहिले उनी विक्षिप्त छिन्। परिवारमा उस्तै अध्याँरो छाएको छ।
अथाह पीडाले उनको छटपटी बढेको छ। बस्! उनी आफूमाथि भएको कुकृत्यको न्यायको प्रतिक्षामा छिन्। अभियुक्तमाथि सशक्त कानूनी कारबाही हुनुपर्ने परिवारको माग छ।
कसरी भयो बालिकामाथि कुकृत्य?
सोमबार भाइटीकाकै दिन चन्द्रागिरि नगरपालिका–२ बसुण्डोलमा १४ वर्षीया बालिकामाथि बलात्कार भएको हो। महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख डिएसपी घनश्याम श्रेष्ठका अनुसार घटनामा संलग्न अभियुक्त पक्राउ परेका छन्।
डिएसपी श्रेष्ठले बसुण्डोलस्थित स्थानीय अर्जुन सुवेदीको जग्गामा निर्माण गरिएको टहरामा बालिकामाथि जबरजस्ती करणी गरेको अनुसन्धानमा खुल्न आएको बताएका छन्।
‘घटनापछि फरार अभियुक्तलाई पक्राउ गरिएको छ, आवश्यक अनुसन्धान र कानूनी कारबाहीको प्रक्रिया पनि अघि बढाइएको छ,’ श्रेष्ठले नेपाली पब्लिकसँग भने।
प्रहरी निगरानीमा अभियुक्त अस्पतालमा
१४ वर्षीया बालिकामाथि कुकृत्य गरेको अभियोगमा प्रहरीले हुम्ला ताजाकोट गाउँपालिका–२ का २३ वर्षीय सुरेश लोहारलाई पक्राउ गरेको छ। प्रहरीले मंगलबार लोहारलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ परेका लोहारलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ करणीसम्बन्धी कसुरमा अनुसन्धान र कानूनी कारबाहीअघि बढाइएको छ।
यसैबीच, अभियुक्त लोहारलाई काठमाडौंको एक अस्पतालमा भर्ना गरिएको छ। प्रहरी स्रोतका अनुसार अभियुक्त लोहार मधुमेह, उच्च रक्तचाप तथा अन्य रोगबाट ग्रसित छन्।
‘अभियुक्त लोहारलाई पथरी पनि रहेछ, र एपेन्डिसाइटिस् भएकाले शल्यक्रियाका लागि अस्पतालमा भर्ना गरिएको छ,’ प्रहरी स्रोतले भन्यो, ‘प्रहरी निगरानीमा रहेका अभियुक्त लोहारमाथि उपचार र अनुसन्धानको प्रक्रिया चलिरहेको छ।’