मकवानपुरमा तीन वर्षीया बालिकाको विभत्स हत्या भएको छ। जिल्लाको बागमती गाँउपालिका–७ लामिटारका शेरबहादुर पाख्रिनकी छोरी ३ वर्षीया रुविना पाख्रिनको हत्या भएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बालिकाको बलात्कारपछि हत्या भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताएका छन्।
‘घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको देखिन्छ,’ घटनास्थलमा रहेका डिएसपी रानाले भने, ‘मृतक बालिकोको शव नग्ङ्न अवस्थामा भेटिएको छ, घटनाबारे हामीले गम्भीर अनुसन्धान गरिरहेको छ।’
घटनास्थल नजिक उनको कपडा फेला परेको र शरीरभरि रगत लत्पतिएका कारण बलात्कारपछि ढुङ्गाले हानेर विभत्स हत्या गरेको हुनसक्नेतर्फ अनुसन्धान शुरु गरिएको प्रहरीले बताएको छ।
उनलाई गम्भीर घाइते बनाइएको अवस्थामा बुधबार साँझ फेला पारिएको र उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको थियो। अस्पतालमा पुर्याएपछि चिकित्सकले मृत घोषित गरेका थिए।
घटनामा संलग्न भएको आशंकामा दुई जना पक्राउ परेको डीएसपी रानाले जानकारी दिए। पक्राउ पर्नेमा २० वर्षीय कुमार भोलन र नाम नखुलेका १६ वर्षीय किशोर रहेका छन्।
बालिका बुधबार दिउँसो ३ बजेदेखि हराइरहेकी थिइन्। उनलाई स्थानीय खोल्साको किनारमा रक्ताम्य अवस्थामा फेला पारिएको थियो। बालिकाको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा राखिएको छ।