नेपाली क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) को दशौँ संस्करणमा होबार्ट हुरिकेन्सबाट खेल्ने भएका छन्।
अघिल्ला दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका सन्दीपले मेलबर्नमा सम्झौता नवीकरण नभएपछि यस पटक हुरिकेन्सबाट खेल्न लागेका हुन्। हुरिकेन्सका मुख्य प्रशिक्षक एडम ग्रिफिथले सन्दीपलाई हुरिकेन्समा आबद्ध गरिएको जानकारी दिएका छन्।
प्रशिक्षक एडमले सन्दीपको आगमनल हुरिकेन्स थप बलियो भएको प्रतिक्रिया दिएका छन्। ‘सन्दीप गेम चेन्जर खेलाडी हुन्। उनी इनिङ्सको कुनै पनि चरणमा बलिङ गर्न सक्छन्,’ उनले भने, ‘उनी एक विकेट टेकर हुन् जसले हाम्रो बलिङमा अर्को आयाम थप्नेछन्।’
बीबीएल आगमी डिसेम्बर १० देखि शुरु हुनेछ। तर सन्दीपले बिग ब्यासको सुरुवाती खेल भने गुमाउने छन्। बीबीएल खेल्नको लागि उनी नेपालबाट डिसेम्बर दोस्रो साता अष्ट्रेलिया जानेछन्।