चितवन– जिल्लामा चाडपर्वको समयमा दुर्घटना बढी भएको पाइएको छ। दशैँ र तिहार बीचको समयमा दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या धेरै भएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा सवारी दुर्घटनामा परी ३० जनाको मृत्यु भएको छ।
तीमध्ये १० जना कात्तिक महिनामा मात्रै भएका हुन्। कात्तिकमा दशैँ र मङ्सिर १ गते तिहार परेको थियो। साउनमा आठ, भदौमा तीन र असोजमा नौ जनाको मृत्यु भएको छ।
चार महिनाको अवधिमा दुर्घटनाबाट ८६ गम्भीर र ११२ जना सामान्य घाइते भएका छन्। मृत्यु हुनेमा पुरूष २५, महिला दुई, बालक एक र बालिका दुई रहेको कार्यालयले जनाएको छ।
कार्यालयका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टका अनुसार पहिलो चौमासिकमा १२१ वटा दुर्घटना भएका थिए। तीमध्ये १८३ सवारी संलग्न छन्। गत आव २०७६÷७७ को पहिलो चौमासिकमा सवारी दुर्घटनाबाट ४५ जनाको मृत्यु भएको थियो।
सवारी दुर्घटनाको मुख्य कारण तीव्रगति रहेको भट्टले बताए। उनका अनुसार चालकको लापरवाही, उछिन्दा (ओभरटेक), यात्रुको गल्ती, खराब सडक र यान्त्रिक गड्बडीका कारण दुर्घटना हुने गरेका छन्।
मतदानद्वारा वडा कार्यालयको टुङ्गो
इच्छाकामना गाउँपालिका–३ को वडा कार्यालय मतदान गरी टुङ्गो लगाइएको छ। विशेष गाउँसभाले बिहीबार वडा कार्यालयको टुङ्गो लगाएको हो। गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत सुकदेव लम्सालका अनुसार वडा कार्यालय फिस्लिङ र चुम्लिङटार कहाँ राख्ने भन्ने विषयमा विवाद रहेको थियो।
विशेष गाउँसभामा गरिएको मतदानमा चुम्लिङटारको पक्षमा १८ मत र फिस्लिङका पक्षमा १५ मत परेको थियो। यससँगै वडा कार्यालय चुम्लिङटारमा रहने भएको छ।
लम्सालका अनुसार सभामा हाल ३५ सदस्य कायम छन्। गाउँपालिकामा सात वडा छन्। यसअघिका गाउँसभामा बहुमत सदस्य नपुगेपछि वडा कार्यालय तय हुनसकेको थिएन।
गत साउनमा फिस्लिङमा अस्थायी कार्यालय राखेपछि चुम्लिङटारका बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका थिए। एक महिनाभित्र विशेष सभामार्फत टुङ्गो लगाउने सहमतिमा ताला खोलिएको थियो।
सभाले स्थानीय वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन विधयेकसमेत पारित गरेको उनले जानकारी दिए। जिल्लामा रहेका सात स्थानीय तहमध्ये इच्छाकामना एक मात्रै गाउँपालिका हो।