गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष एवं उद्यमी जीवा लामिछानेको नियात्रा संग्रह ‘देश देशावर’ सार्वजनिक भएको छ। ‘सरसर्ती संसार’पछि लामिछानेको यो दोश्रो नियात्रा संग्रह हो।
अक्षरका माध्यमबाट संसार घुमाउने पुस्तक हो– देश देशावर। जसले संसार घुमाउँदै इतिहास सम्झाउँछ। र, भूगोलको दृश्यचित्र कोरिदिन्छ। विश्वव्यापी रूपमा बढ्दो कोभिड–१९ को संक्रमणका कारण कुनै औपचारिक कार्यक्रम नगरी भिडियोमार्फत् पुस्तक सार्वजनिक गरिएको हो।
यो पुस्तकमा विभिन्न किसिमका युद्ध र द्वन्द्वका कारण ध्वस्त भएर पनि त्यहाँबाट माथि उठेर विकसित भएका अफ्रिकी देशहरूको कथा छ। यहाँका प्रत्येक नियात्रामा लेखकले आफ्नो देश सम्झेकाछन्। ‘त्यसको लक्ष्य आफ्नो देशका नेताहरूलाई विकासको नमूना देखाउनु हो,’ लेखक अमर न्यौपानेले भने।
किताबले भ्रमणको हुटहुटी जगाउने र पाठकलाई घुम्न प्रेरित गर्ने फाइनप्रिन्टका सहसंस्थापक नीरज भारीले बताए। ‘विश्व धेरै रङरुपले भरिपूर्ण छ, बहुआयामिक पनि छ,’ उनले भने, ‘विभिन्न देश अनि ठाउँमा पुगेर तिनै विशेषता बताउँदै, पाठकलाई जाऊँजाऊँ बनाउन यो कृति सक्षम छ।’
घुम्ने संस्कृति विकास हुँदै गरेको नेपालमा यो पुस्तकले त्यसका लागि सहयोगी भूमिका निर्वाह गर्न सक्ने उनले बताए। आफू जान नपाए पनि विभिन्न ठाउँबारे बुझ्न पनि यसले सघाउने उनको भनाइ छ।
जसले एउटै पुस्तक पढेर संसारका धेरै ठाउँबारे जानकारी राख्न चाहन्छ, उसका लागि पु्स्तक उपयोगी हुन सक्ने लेखक लामिछानेले बताए। ‘यो पुस्तकमा तपाईंले ठूलो ‘लिटरेरी भ्यालु’ खोज्नुभयो भने त्यो पाउनुहुन्न,’ लेखक स्विकार्छन्, ‘तर, एउटै पुस्तकबाट संसारका विभिन्न देश एवम् ठाउँबारे जान्न, त्यहाँको रहनसहन बुझ्न र भौगोलिक अवस्थाबारे जानकारी दिन भने पक्कै काम लाग्नेछ।’
यात्रा गर्ने र त्यसलाई लिपिबद्ध गर्न रूचाउने लामिछानेले संसारका एक सय ३० भन्दा बढी देश घुमिसकेका छन्। आइसल्यान्डको सुन्दर भूगोल होस् या बर्मुडा ट्र्याङ्गलको तिलस्मी संसार, पुस्तकमा वर्णित दृश्यपरिदृश्यले पाठकलाई ब्याकप्याक बोकेर ती ठाउँको भ्रमणमा जाऊँजाऊँ बनाउँछन्।
सँगै जातीय युद्धको विभिषिकाबाट गुज्रिएको रूवान्डा र राष्ट्रवादको फेरो समातेर तानाशाही टिकाएको इदी अमिनको युगान्डाले आफ्नो विद्रुप इतिहासबाट माथि उठेर जसरी विकासको बाटो हिँडे, नेपालले पनि समृद्धिको बाटो समात्न सक्छ है भन्ने आशा पनि पुस्तकले देखाउँछ।
‘सम्भव भएसम्म घुमघाम गर्ने मौका छाड्नु हुँदैन’
हाल सपरिवार जर्मनीमा बसोबास गर्ने नियात्राकार लामिछानेले कोरोना कहरका कारण आफै भ्रमण गर्न पाए कि पाएनन् त?
ग्लोबल नेप्लिज न्युजनेटवर्कसँग कुरा गर्दै लामिछानेले लकडाउनको शुरुको दुइ महिना घरमै बसेको तर त्यस पछि जर्मनी, बेल्जियम र स्वीट्जरल्यान्डका केही भूभाग तथा समुद्री तटहरूमा काम र छुट्टीको सिलसिलामा पुगेको बताए। ‘अहिले पनि सप्ताहान्तमा परिवारसहित पार्क वा जंगलतिर जान्छु,’ उनले भने।
उद्यमी लामिछाने कोभिड–१९ का कारण संसारभरि र नेपालमा पनि हवाइ यातायात र पर्यटन उद्योग सबैभन्दा नराम्रोसँग प्रभावित भएको बताउँछन्।
युके, जर्मनीजस्ता मुलुकहरूले आफ्ना उद्यमीहरूलाई राहत दिएका छन्। नेपालमा नयाँ खुलेका होटलहरूमा बैंकहरूको अर्बौंको लगानी परेको छ र किस्ता तिर्न होटलहरूलाई धौ–धौ परिरहेको छ।
त्यसैले नेपाल सरकारले उनीहरूलाई सहुलियत दिनुका साथै समग्र पर्यटन क्षेत्रको पुनरुत्थानका लागि प्याकेज ल्याउन ढिलो गर्न नहुने उनको सुझाव छ।
‘अरु होलिडे डेस्टिनेसनको तुलनामा नेपालको पर्यटन क्षेत्र तंग्रिन अलि बढी समय लाग्न सक्छ। त्यसैले नेपाल सरकारले घरेलु पर्यटनलाई बढावा दिनुका साथै आफ्ना कर्मचारीहरूलाई भ्रमणमा जान सहुलियत दिने गर्नु पर्दछ,’ लामिछानेले भने।
पहाड, वनजंगल, हिमाल, ऐतिहासिक र धार्मिक पर्यटनका लागि नेपाल विश्वमै अद्वितीय रहको लामिछानेका भनाइ छ। ‘त्यसैले कोरोनाबाट बच्दै नेपालको पर्यटनलाई जोगाउन सबैको सामूहिक पहल आवश्यक छ,’ उनले भने।
चाडवाडमा नेपाल गएका बेला नेपालका चर्चित स्थानहरुको भ्रमणमा निस्कन पनि उनले गैर आवासीय नेपालीहरुलाई आग्रह गरे। ‘अहिले सुरक्षित भएर बस्नु नै पहिलो प्राथमिकता हो, तर सम्भव भएसम्म घुमघाम गर्ने मौका पनि छाड्नु हुँदैन,’ उनले भने।