एकैदिन ७ कोरोना संक्रमितको मृत्यु भएसँगै पोखरामा त्रास फैलिएको छ। पोखरा महानगरपालिकाका ६ जना पुरुष र तनहुँका एकजना पुरुषको मृत्यु भएसँगै पोखराबासी त्रसित बनेका छन्।
कोरोना संक्रमण देखिएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका पोखरा महानगरपालिका–१७ का २९ वर्षीय पुरुषको शुक्रबार मध्याह्न मृत्यु भएको छ। सोही अस्पतालमा शुक्रबार बिहान कोरोनाबाट पोखरा महानगरपालिका–१३ का ५५ वर्षीय पुरुषको निधन भएको छ।
त्यस्तै, शुक्रबार बिहान नै गण्डकी मेडिकल केलजमा पोखरा महानगरपालिका– ८ का ५४ वर्षीय पुरुषको कोरोना संक्रमणबाछ ज्यान गएको छ। २७ कात्तिकमा संक्रमण पुष्टि भएका उनी मिर्गौसम्बन्धी रोगबाट पीडित थिए। २९ कात्तिकमा कोरोना पुष्टि भएका पोखरा महानगरपालिका–२७ का ७१ वर्षीय पुरुषको बिहीबार राति गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पोखरा महानगरपालिका–९ का ६८ वर्षीय कोरोना संक्रमित पुरुष र पोखरा महानगरपालिका– २१ का ७५ वर्षीय पुरुषको बिहीबार राति निधन भएको छ।
त्यस्तै, शुक्रबार विहान म्याग्दे गाउँपालिका–४, तनहुँका ५१ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ। ३ मंसिरमा कोरोना संक्रमण पुष्टि भएका उनको उपचारका क्रममा निधन भएको हो।