काठमाडौं – काठमाडौं महानगरपालिकाले भोलि (आइतबार) देखि निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन शुरु गर्ने भएको छ। सरकारी मापदण्डमा परेकाहरूको स्वाब संकलन गर्न लागिएको मेयर विद्यासुन्दर शाक्यले जानकारी दिएका हुन्।
शनिबार राष्ट्रिय विभूति शंखधर साख्वा र मानव अधिकार अभियान अगुवा पद्मरत्न तुलाधरको शालिक अनावरण कार्यक्रमपछि शाक्यले सञ्चारकर्मीसँग कुरा गर्दै आइतबारदेखि स्वाब संकलन गर्ने कार्यलाई पुनः सूचारू गर्न लागेको बताएका छन्।
सरकारले आफ्नै खर्चमा पीसीआर टेष्ट गर्नुपर्ने निर्णय गरेपछि महानगरले स्वाब संककलन नै रोकेको थियो। महानगरले पनि कन्ट्याक ट्रेसिङमा परेका लक्षण भएकाहरुको स्वाब संकलन सुरु गर्न लागेको छ।
मेयर शाक्यले परीक्षणको दायरा फराकिलो बनाउने लागिएको बताए। साथै कन्ट्याक्ट ट्रेसिङमा परेका अशक्त र जेष्ठ नागरिकहरुको स्वाब संकलन गर्न मोवाइल भ्यान सञ्चालन गर्ने तयारी भइरहेको उनले बताएका छन्।