नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टीमा विभाजन नआउने बताएका छन्। तुलसीपुर उपमहानगरपालिकाद्वारा शनिबार आयोजित भेटघाट कार्यक्रममा गाैतमले पार्टीभित्रका केही आन्तरिक समस्या समाधान गर्न आफूले निरन्तर पहल गरिरहेको बताएका हुन्।
गौतमले नेकपाको एकता र पार्टी निर्माणका कुनै नेता विशेषको मात्रै योगदान नरहेको टिप्पणी गरे। ‘म कुनै गुटमा छैन, म सधैँ गुटको विपक्षमा हुन्छु,’ उनले भने, ‘मैले पार्टी एकतालाई जोड दिएको छु, यो लाखौं कार्यकर्ताको योगदानबाट निर्माण भएको पार्टी हो, पार्टी कुनै पनि हालतमा फुट्दैन।’
यो पनि पढ्नुहोस्ः जनयुद्धमा प्रचण्ड, मोहन वैद्य र बाबुरामलाई सुरक्षा दिने लडाकू कमाण्डरको यो हाल
पार्टी एकताका क्रममा देखिएका केही विषयलाई तत्कालीन समयमा समाधान नगरिँदा अहिले समस्या आएको उनको भनाइ छ।
उपाध्यक्ष गौतमले पार्टीमा दुई अध्यक्षले बैठकको कार्यसूची तय गर्ने र त्यसैका आधारमा सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बस्ने बताए। ‘पार्टीभित्र फरक विचार राख्नाले पार्टीलाई झनै चलायमान र सुदृढ बनाउने छ,’ उनले भने।
उपाध्यक्ष गौतमले मुलुक समृद्धिका मार्गमा अघि बढेको र सरकारले घोषण पत्रअनुसार काम गर्नुपर्नेसमेत बताएका छन्।