काठमाडाैं– सशस्त्र प्रहरी बलको एपीएफ क्लबका गोपीचन्द्र पार्की सन् २०२१ मा जापानको टोकियोमा आयोजना हुने ओलम्पिकका लागि नेपालबाट छनोट भएका छन्। बाँकेको नेपालगञ्जमा शनिबार सम्पन्न म्याराथन उपाधि जितेसँगै पार्की टोकियो ओलम्पिकका लागि छनोट भएका हुन्।
पार्कीले छैटौँ धारा नेपालगञ्ज म्याराथनको उपाधि जितेका हन्। पार्कीले गत वर्ष मङ्सिरमा नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा पाँच हजार मिटर दौडमा स्वर्ण पदक जितेका थिए।
पच्चीस खेलाडी सहभागी म्याराथनमा पार्कीले निर्धारित ४२ दशमलव १९५ किलोमिटरको दूरी दुई घण्टा १८ मिनेट ५९ सकेन्डमा पूरा गरेका थिए।
नेपाली सेनाका कृष्ण बस्नेत दोस्रो भए। उनले दुई घण्टा २० मिनेट ४९ सेकेन्डमा दौड पूरा गरे। नेपाली सेनाकै खगेन्द्र भाट दुई घण्टा २७ मिनेट २८ सेकेन्डमा दूरी पूरा गर्दै तेस्रो भए। पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः रु ७५ हजार, रु ३० हजार तथा रु १० हजार पुरस्कार प्राप्त गरेका आयोजक संस्था क्रिएटिभ ह्यान्ड्सका अध्यक्ष टिएस ठकुरीले जानकारी दिए।
कोरोना भाइरसको महामारीका कारण अन्य प्रतियोगिता आयोजना हुन नसक्दा नेपाल ओलम्पिक कमिटी (एनओसी) नेपालगञ्ज म्याराथनको विजेतालाई टोकियो ओलम्पिकमा सहभागिता गराउने निर्णय गरेको थियो।
यसैगरी महिला हाफ म्याराथनको उपाधि एपीएफ क्लबकी पुष्पा भण्डारीले जिते। तेह्रौँ सागको हाफ म्याराथनमा रजत पदक जित्नुभएकी पुष्पाले निर्धारित दूरी एक घण्टा २६ मिनेट ५४ सेकेन्डमा पूरा गरे। उनले रु ३० हजार पुरस्कार प्राप्त गरे।
यस्तै कर्णाली प्रदेशकी मञ्जु रावत एक घण्टा ३० मिनेट ७ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो भए भने शर्मिला घर्तीले एक घण्टा ३८ मिनेट १४ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गरे। रावत र घर्तीले क्रमशः रु १५ हजार र रु १० हजार पुरस्कार प्राप्त गरे।