चितवन– पाँच दशकदेखि साहित्य र पत्रकारितामा सक्रिय रेशम विरहीको ११औँ कृति ‘सत्ता र स्वप्नदोष’ बजारमा आएको छ। पुस्तक शिखा बुक्सले बजारमा ल्याएको हो। यो कृतिमा २५ वटा निबन्ध रहेका छन्। आठ वटा प्रभाव अर्थात् व्यक्तिकेन्द्रित छन् भने १७ वटा भावमा आधारित छन्। दुई सय पृष्ठको निबन्ध सङ्ग्रहको मूल्य रु ३२५ रहेको छ।
‘देब्रे आँखा’ नामक निबन्ध सङ्ग्रहबाट चर्चामा रहनुभएका विरही पत्रकारिता, कविता, उपन्यास र निबन्ध लेखनमा विगत पाँच दशकदेखि सक्रिय छन्। उनको पहिलो कृति विसं २०३५ मा ‘मुलाको बोक्रा’ बजारमा आएको थियो। विसं २०२८ बाट उनी पत्रकारिता क्षेत्रमा लागेका हुन्।
यसअघि उनका निबन्ध ‘देब्रे आँखा’, उपन्यास ‘प्रेमदासको डायरी’, कविता ‘थालथालमा सपना’, ‘मङ्गली गुप्ताको पान’, ‘भित्ताको रङ’ जस्ता कृति चर्चामा छन्। यससँगै उनले ‘आधारभूत पत्रकारिता पाठ्यक्रम’ प्रकाशित गरेका छन्। स्नातकमा ‘भोकेशनल’ पाठ्यक्रममा यो पुस्तक प्रयोग हुने गरेको छ।
पछिल्लो समय क्यान्सर रोगको उपचार गराउने क्रममा उनले लेखेका ‘सातौँ बादशाहको रातो कोट’ कविता सङ्ग्रह तयार भएको छ। यो कृति छिट्टै प्रकाशन गर्ने तयारीमा रहेको उनले जानकारी दिए। विरही नेपाली पत्रकारिता र साहित्यिक क्षेत्रका अग्रणी व्यक्तित्व हुन।