स्पेनिस क्लब बार्सिलोना घरेलु लिग ला लिगामा खराब अवस्थाबाट गुज्रिरहेको छ। ला लिगाको गत सिजनको उपविजेता बार्सिलोनाले जारी सिजन अपेक्षाकृत प्रदर्शन गर्न सकेको छैन।
रोनाल्ड कोएम्यानको प्रशिक्षणमा रहेको बार्सिलोनाले ला लिगाका खेलहरुमा आफ्नो खराब प्रदर्शन सुधार्न सकेको छैन। गय राति भएको खेलमा एथ्लेटिको मड्रिडसँग बार्सिलोना १–० गोलले पराजित भयो। पछिल्ला केहि खेलहरु हेर्ने हो भने खेलमा पकड जमाएपनि बार्सिलोना उत्कृष्ट फिनिस गर्नबाट चुकिरहेको छ।
जारी सिजन ८ खेल खेलिसकेको बार्सिलोना ११ अंकको साथ तालिकाको १० औं स्थानमा छ। ८ खेलमध्ये ३ खेलमा जित, ३ खेलमा हार र २ खेलमा बराबरी गरेको बार्सिलोना २५ वर्ष यताकै खराब अवस्थामा रहेको छ।
घरेलु लिगमा बार्सिलोनाले गरेको प्रदर्शनबाट फ्यानहरु निराश बनेका छन् भने क्लब उपाधि दौडबाट नै बाहिरिने होकि भन्ने चिन्ता बढेको छ। खराब प्रदर्शन जारी रहे बार्सिलोनाले उपाधी त परको कुरा घरेलु लिगको उत्कृष्ट ४ मा पर्दै आगामि सिजनको च्याम्पियन्स लिगमा स्थान बनाउन पनि संघर्ष गर्नुपर्ने फुटबल विश्लेषक बताउँछन्।