काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई चितवनमा कार्यकर्ताबाट भएको दुव्र्यवहारबारे प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीटमार्फत् विरोध गर्दै घटनाको छानविन गर्न माग गरेका छन्। श्रेष्ठले दिएको वक्तव्यप्रति प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले असन्तुष्टि जनाएका छन्।
प्रवक्ता श्रेष्ठले पाण्डेमाथि सुनियोजित दुव्र्यवहार भएको र उक्त घटना अति निन्दनीय र भत्र्सनायोग्य भएको ट्विटरमा उल्लेख गरेका छन्। प्रवक्ता श्रेष्ठको सोही वक्तव्यपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले ट्वीटमा पार्टी एकताको नारा लगाउँदा सुनियोजित दुव्र्यवहार देखेको भन्दै असन्तुष्टि जनाएका हुन्।
‘बुटवलमा मुख्यमन्त्री शंकर पोखरेल चढ्नु भएको गाडीमाथि ढुंगा प्रहार गरिँदा निदाउनुभएको थियो क्यारे!,’ प्रवक्ता श्रेष्ठको वक्तव्य स्क्रिनसट गर्दै थापाले ट्वीट गरेका छन्, ‘चितवनमा पार्टी एकता जिन्दावादको नारा लगाउँदा सुनियोजित दुर्व्यवहार देख्नु भएछ। गज्जब छ गुटगत अन्तरदृष्टि र छनोटपूर्ण वक्तव्यबाजी। दुवै स्थायी कमिटी सदस्य- तब न नारायणकाजी।’
शनिबार राप्ति नगरपालिकामा नेकपाको कार्यक्रममा पाण्डे बोलिरहँदा कार्यकर्ताले ‘पार्टी एकता, जबज र प्रधानमन्त्री ओलीको समर्थनमा’ नारावाजी गरेका थिए।प्रवक्ता नारायणकाजी श्रेष्ठललगायत नेकपा नेता झलनाथ खनाल, माधवकुमार नेपालले विज्ञप्ति र ट्वीटमार्फत् विरोध गर्दै घटनाको छानविन गर्न माग गरेका थिए।