पार्टी एकता संकटमा परेको निष्कर्षसहित प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली बिहानैदेखि आन्तरिक छलफलमा जुटेका छन्।
सचिवालयको १० दिनका लागि स्थगित बैठकको सन्दर्भ र आगामी रणनीति तयार गर्नका लागि ओली आफू निकट नेताहरूसँग छलफलमा जुटेका हुन्।
नेकपाका एक केन्द्रीय नेताका अनुसार ओलीले आइतबार बिहान आफू निकट मन्त्रीहरूसँग छलफल गरेका छन्। साथै पूर्व माओवादीका केही नेताहरूसँग पनि उनले छलफल परेको बुझिएको छ।
प्रधानमन्त्री ओलीले गृहमन्त्री रामबहादुर थापासँग पनि आगामी रणनीतिका सन्दर्भमा सल्लाह मागेका छन्। एक मन्त्रीका अनुसार ओलीले पार्टी एकता संकटमा परेकाले अबको नयाँ ढंगले जानुको विकल्प नरहेका बताएका छन्।
‘अध्यक्ष प्रचण्डको आरोप र अबको रणनीतिमा बैठक केन्द्रित थियो, प्रधानमन्त्रीजी पार्टी एकता संकटमा परेको विषयले गम्भीर देखिनु भएको थियो,’ ती मन्त्रीले भने, ‘अहिले पनि पार्टीका नेताहरूसँग लगातार छलफलमै हुनुहुन्छ।’
प्रचण्ड पनि आन्तरिक परामर्शमा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री ओली भेटेपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेताहरू छलफलमा जुटेका छन्।
ओलीले ‘मूभ’ गर्ने संकेत गरेपछि प्रचण्ड पक्ष सशंकित भएका हुन्। ‘अध्यक्ष कामरेडले पार्टीमा देखिएको संकटका विषयमा छलफलका लागि बोलाउनु भएको थियो, सामान्य छलफल भयो,’ नेकपाका एक नेताले भने।
नेकपा अध्यक्ष प्रचण्डसहित सचिवालयका ५ सदस्यले कात्तिक २८ को सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको आलोचना गर्दै १९ पेजको प्रस्ताव पेश गरेपछि पार्टी गम्भीर संकटतर्फ धकेलिएको छ।
मंसिर ३ गते बसेको नेकपा सचिवालय बैठक १० दिनपछि बस्ने गरी स्थगित भएको छ। बैठकमा ओलीले आफूमाथि लागेका आरोपको बुँदा–बुँदा जवाफ दिने बताएका छन्।
तर, पार्टीभित्र अल्पमतमा परिसकेका ओलीले कांग्रेस र अन्य दलसँग सरकार गठनको छलफल चलाएर प्रचण्डसहित असन्तुष्ट नेताहरूलाई अझ आक्रोशित बनाएको नेकपाका नेताहरूको टिप्पणी छ।
यसअघि, प्रधानमन्त्री ओलीले सचिवालय बैठकमा आफूमाथि लगाइएका आरोप आफूले सहन नसक्ने बताएका थिए। उनले आरोप हल्का ढङ्गले लगाइएका रुपमा नलिएको समेत बताएका छन्।
सो ‘आरोप पत्र’ फिर्ता नभएसम्म अर्को बैठकमा नबस्ने अडान लिए पनि बुधबार अन्तिम समयमा बैठकमा सहभागी भएका ओलीले १० दिनपछि त्यसको जवाफ दिने बताएका थिए।