प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद र पार्टी एकतामा देखापरेको संकटका बीच नयाँ ‘पासा’ फ्याँकेका छन्।
प्रधानमन्त्री ओलीको अस्त्र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसहितका आफ्नो विपक्षमा भएका नेताहरूप्रति लक्षित छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई शनिबार भेटेर ८ मन्त्रालयसहित संयुक्त सरकार बनाउन आग्रह गरेलगत्तै अन्य साना दलका नेताहरूसँग सरकारमा सहभागी हुने सम्बन्धमा ओलीले छलफल चलाएका छन्।
ओली निकट नेताहरूले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी तथा संसदमा प्रतिनिधित्व गर्ने अन्य दलहरूसँग छलफल अघि बढाउन आफू निकट केही नेतालाई खटाएका छन्।
‘प्रधानमन्त्रीज्यूले कांग्रेस सभापति देउवासँगको भेटमा ८ मन्त्रालयसहित सरकारमा सहभागी हुन आग्रह गर्नुभयो, त्यति मात्रै होइन, अन्य मधेश केन्द्रितसहित अन्य साना दललाई ४ वटा मन्त्रालय दिने गरी आवश्यक रणनीति बनाउनु भएको बुझेँ,’ ओलीसँग पछिल्ला दिनहरूमा छलफलमा सहभागी रहेका नेकपाका एक नेताले नेपाली पब्लिकसँग भने।
यसअघि, बालुवाटारमा शनिबार भएको कांग्रेस सभापति देउवासँगको भेटमा प्रधानमन्त्री ओलीले ८ मन्त्रालय लिन र सरकारमा आउन आग्रह गरेका थिए।
नेपाली कांग्रेसका सभापति देउवा निकट स्रोतका अनुसार उनले ओलीलाई पार्टीमा सल्लाह नगरी यस विषयमा केही भन्न नसक्ने जवाफ दिएका छन्।
‘ओलीजीसँगको भेटमा सभापतिले प्रचण्डसँग मिलेर जानुस् भन्नु भएको जानकारी आएको छ, साथै ८ मन्त्रालय लिएर साझा सरकार गठनका लागि ओली प्रस्ताव गरेको बुझेको छु,’ देउवा निकट एक नेताले भने।
भेटमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता संकटमा पुगेको निष्कर्ष ओलीले देउवालाई सुनाएको स्रोत भनाई छ।
‘८ मन्त्रालय दिनुस्, साझा सरकार बनाऔं, अब पार्टी एकता भनेर सँगै बस्न सक्ने अवस्था छैन, त्यसैले मैले तपाईलाई बोलाएको हुँ,’ ओलीको भनाई उद्धृत गर्दै देउवा निकट स्रोतले भन्यो।
स्रोतका अनुसार प्रचण्डले शुरुआती दिनमा सहयोग गरेजस्तो गरे पनि अहिले आफूविरुद्ध गम्भीर आरोपमा उत्रिएकाले पार्टीको एकता संकटमा परेको ओलीको धारणा थियो। ओलीले प्रचण्ड र नेपालसँग सम्झौता नगर्ने, बरु पार्टी फुटाएर कांग्रेस र अन्य दलसँग मिलेर सरकारको नेतृत्वमा टिकिरहने रणनीति लिएका छन्।
प्रधानमन्त्री ओलीसँगको भेटमा सभापति देउवाले कोरोना प्रकोपको संक्रमण र प्रभाव नियन्त्रण बाहिर जान नदिन उचित कदम चाल्न र पार्टीमा सल्लाह गरेर मात्रै निर्णयहरू गर्न सुझाव दिएका छन्।
पार्टी एकता संकटमा परेको निष्कर्षसहित प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली आइतबार बिहानैदेखि आन्तरिक छलफलमा जुटेका थिए।
सचिवालयको १० दिनका लागि स्थगित बैठकको सन्दर्भ र आगामी रणनीति तयार गर्नका लागि ओली आफू निकट नेताहरूसँग छलफलमा जुटेका हुन्।
नेकपाका एक केन्द्रीय नेताका अनुसार ओलीले आइतबार बिहान आफू निकट मन्त्रीहरूसँग छलफल गरेका थिए। साथै पूर्व माओवादीका केही नेताहरूसँग पनि उनले छलफल परेको बुझिएको छ।
प्रधानमन्त्री ओलीले गृहमन्त्री रामबहादुर थापासँग पनि आगामी रणनीतिका सन्दर्भमा सल्लाह मागेका छन्। एक मन्त्रीका अनुसार ओलीले पार्टी एकता संकटमा परेकाले अबको नयाँ ढंगले जानुको विकल्प नरहेका बताएका छन्।
‘अध्यक्ष प्रचण्डको आरोप र अबको रणनीतिमा बैठक केन्द्रित थियो, प्रधानमन्त्रीजी पार्टी एकता संकटमा परेको विषयले गम्भीर देखिनु भएको थियो,’ ती मन्त्रीले भने, ‘अहिले पनि पार्टीका नेताहरूसँग लगातार छलफलमै हुनुहुन्छ।’
प्रचण्ड पनि आन्तरिक परामर्शमा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री ओली भेटेपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेताहरू छलफलमा जुटेका छन्।
ओलीले ‘मूभ’ गर्ने संकेत गरेपछि प्रचण्ड पक्ष सशंकित भएका हुन्। ‘अध्यक्ष कामरेडले पार्टीमा देखिएको संकटका विषयमा छलफलका लागि बोलाउनु भएको थियो, सामान्य छलफल भयो,’ नेकपाका एक नेताले भने।
नेकपा अध्यक्ष प्रचण्डसहित सचिवालयका ५ सदस्यले कात्तिक २८ को सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको आलोचना गर्दै १९ पेजको प्रस्ताव पेश गरेपछि पार्टी गम्भीर संकटतर्फ धकेलिएको छ।
मंसिर ३ गते बसेको नेकपा सचिवालय बैठक १० दिनपछि बस्ने गरी स्थगित भएको छ। बैठकमा ओलीले आफूमाथि लागेका आरोपको बुँदा–बुँदा जवाफ दिने बताएका छन्।
तर, पार्टीभित्र अल्पमतमा परिसकेका ओलीले कांग्रेस र अन्य दलसँग सरकार गठनको छलफल चलाएर प्रचण्डसहित असन्तुष्ट नेताहरूलाई अझ आक्रोशित बनाएको नेकपाका नेताहरूको टिप्पणी छ।
यसअघि, प्रधानमन्त्री ओलीले सचिवालय बैठकमा आफूमाथि लगाइएका आरोप आफूले सहन नसक्ने बताएका थिए। उनले आरोप हल्का ढङ्गले लगाइएका रुपमा नलिएको समेत बताएका छन्।
सो ‘आरोप पत्र’ फिर्ता नभएसम्म अर्को बैठकमा नबस्ने अडान लिए पनि बुधबार अन्तिम समयमा बैठकमा सहभागी भएका ओलीले १० दिनपछि त्यसको जवाफ दिने बताएका थिए।
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओली पूर्वी क्षेत्रको भ्रमणमा निस्किएका छन्। उनी ताप्लेजुङका ओलाङचुङगोला, घुन्सा र इलामको जौबारीका लागि सोमबार बिहान पौने १० बजे सेनाको हेलिकोप्टरमा प्रस्थान भएका हुन्।
प्रधानमन्त्रीले ओलाङचुङगोला नाका अवलोकन, सीमा सुरक्षा पोस्टको निरीक्षण र घुन्साबासीलाई सम्बोधन गर्ने कार्यक्रम रहेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंले बताए। फक्ताङलुङ गाउँपालिक–६ लेलेप घुन्सालाई नमुना गाउँ घोषणा गरिँदै छ।
ओलीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, नेकपा नेता सुवास नेम्वाङ, १ नम्बर प्रदेशका मुख्यमन्त्री सेरधन राई पनि जाने कार्यक्रम रहेको चापागाईंले जानकारी दिए। प्रधानमन्त्री यो क्षेत्रमा मंसिर ५ गते नै आउने कार्यक्रम थियो।