विश्व कोरोना भाइरसविरुद्धको खोपको प्रतीक्षामा छ। विभिन्न देशहरु खोप निर्माणको लागि लगातार प्रयास गरिरहेका छन् भने कतिपय देशमा खोपको परीक्षण भइरहेको छ।
यसैबीच कोरोना महामारीको मुख्य शिकार बनेको अमेरिकाबाट आएको एक समाचारले नयाँ आशा जगाएको छ। अमेरिकी फार्मास्यूटिकल कम्पनी फाइजर (pfizer) र उसको जर्मन पार्टनर बायो एनटेक (bioNtech) ले तयार गरेको कोभिड–१९ विरुद्धको खोप प्रयोगको अनुमतिका लागि अमेरिकी खाद्य तथा औषधी प्रशासन (एफडीए)मा निवेदन दिइएको छ।
उक्त विषयमा छलफल गर्नको लागि डिसेम्बर १० मा एफडीएको परामर्श समितिको बैठक बस्ने भएको छ। उक्त बैठकले खोप प्रयोगको अनुमति दिएमा कोरोना भाइरसविरुद्धको खोप प्रयोगमा आउनेछ। सम्भवतः खोप डिसेम्बर ११/१२ देखि प्रयोगमा आउने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
यसअघि ३ चरणमा परीक्षण गरिएको खोप ९५ प्रतिशत प्रभावकारी भएको दावी गरिएको थियो। एफडीएले अनुमित दिएको भोलिपल्टैबाट खोपको प्रयोग शुरु गरिने बताइएको छ।