उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनले बेला–बेला माओवादी जनयुद्धमा खिचेका सैन्य पोसाकका तस्वीर आफ्नो फेसबुकमा पोस्ट गर्छन्।
नेकपा (माओवादी) शान्ति प्रक्रियामा आएपछि शान्ति सम्झौतामार्फत् जनमुक्ति सेनालाई नेपाली सेनामा समायोजन तथा निशस्त्रीकरणको प्रक्रियाका पूरा भयो।
तर, माओवादी जनयुद्ध लडेर सत्तामा पुगेका नेताहरूमा त्यतिबेलाको धङधङ्गी अझै कायम छ। कतिसम्म भने उपराष्ट्रपति जस्तो राष्ट्रिय गरिमा बोकेको पदमा आसिन व्यक्तिकै छोराले कम्ब्याट ड्रेस दुरुपयोग गरिरहेका छन्।
उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनले सोमबार सामाजिक सञ्जाल फेसबुकमा कम्ब्याट ड्रेससहितको तस्वीर राखेर ‘जनमुक्ति सेना दिवशको अवसरमा’ लेखेका छन्। उनी नेकपाका युवा नेता तथा अनेरास्ववियूका केन्द्रीय नेता पनि हुन्।
तत्कालीन माओवादीले मंसिर ८ लाई जनमुक्ति सेना दिवस मनाउने गरेको थियो। तर, सत्तारुढ दल नेकपाको एकतापछि जनमुक्ति सेना दिवस स्थगित भएको छ। पूर्व माओवादी घटकले सोमबार १९औं जनमुक्ति सेना दिवस मनाएका छन्।
नेपालको कानून अनुसार सैन्य पोसाक लगाउन बर्जित छ। गत जेठ पहिलो साता नेपाली सेनाले एक सर्वसाधारणले लगाएको सैन्य पोसाक खोल्न लगाएका थिए। ब्लड बैंक जान हिँडेका एक सर्वसाधारणलाई सडकमै कम्ब्याड ड्रेसको कमिज खोल्न लगाएर र फोहोर फाल्ने टोकरीमा हाल्न लगाएका थिए।
यसैबीच, नेपाली सेनाको पोशाकसँग मिल्दोजुल्दो कपडा सर्वसाधारणले प्रयोग गर्न बन्देज छ। गृह मन्त्रालयले सैनिक पोशाकसँग मिल्दो कपडाको दुरुपयोग बढेपछि सेनाबाहेकका व्यक्तिलाई पोशाक प्रयोग गर्न नपाउने व्यवस्था लागू गरेको छ।
नेपाली सेनाको आग्रहमा मन्त्रालयले ७७ जिल्लामै सर्वसाधारणले सैनिक पोशाक प्रयोग गर्न नपाउने व्यवस्था मिलाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई गत वर्ष नै पत्राचार गरिएको थियो।
वनरक्षक तथा निजी सुरक्षागार्डले पनि सैनिकको जस्तै पोशाक लगाउन थालेपछि नेपाली सेनाले आपत्ति प्रकट गरेको थियो। गृह मन्त्रालयको पत्राचारपछि सबैजसो जिल्ला प्रशासन कार्यालयले बजारपसलमा रहेका सैन्य पोसाक खरिद गरेको ठाउँमै फिर्ता गर्न आग्रह गरेको थियो।