कोरोना कहरका कारण महिनौंसम्म स्थगित भएको कक्षा १२ को परीक्षा भोलि (मंगलबार)बाट शुरू हुँदैछ। गत वैशाखमा नै हुनुपर्ने परीक्षा कोरोना महामारीका कारण लामो समयसम्म रोकिएको थियो।
यसैबीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले भिडियो सन्देशमार्फत सबै विद्यार्थीलाई ढुक्क भएर परीक्षा दिन आग्रह गरेका छन्। परीक्षाको सबै तयारी पूरा भइसकेको जानकारी दिँदै मन्त्री पोखरेलले कोरोना संक्रमण भएर परीक्षा दिन नसक्ने विद्यार्थीले पछि परीक्षा दिन पाउने बताएका छन्।
कक्षा १२ को परीक्षामा कूल पूर्णाङ्कमध्ये ४० प्रतिशत मात्रै लिखित परीक्षा हुनेछ। अरू कक्षा ११ को अंक, आन्तरिक कक्षा कार्य तथा बेलाबेला लिइएका परीक्षाबाट विद्यालयले आन्तरिक मूल्यांकन गरी राष्ट्रिय परीक्षा बोर्डमा अंक पठाउनुपर्ने छ। परीक्षा केन्द्रमा उपस्थित हुनेले अनिवार्य मास्क लगाउनु पर्नेछ। परीक्षा केन्द्रमा भिडभाड नगर्न आग्रह गरिएको छ।