महोत्तरी जिल्लाको बर्दिबासमा स्थानीयबासीको प्रदर्शन उत्कर्षमा पुगेपछि प्रहरीले चलाएको गोली लागेर घाइते भएका दुई जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।
बर्दिबास नगरपालिका–१४ स्थित शुभम् वस्तीकी बालिका ६ वर्षीया गुलाव शाह खातुनको हत्यामा संलग्नलाई पक्राउ र पीडित पक्षलाई क्षतिपूर्तिको माग राखेर शुरु भएको अनियन्त्रित भएपछि प्रहरीले गोली चलाएको हो।
स्थानीयबासीले पूर्वपश्चिम राजमार्ग र वीपी राजमार्गमा अवरोध खडा गरी प्रदर्शन गरेका थिए। घटनास्थलमा परिचालित प्रहरीमाथि स्थानीयबासीले ढुंगा प्रहार गर्न थालेपछि प्रहरीले गोली चलाएको हो।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार गोली लागेर बर्दिबास नगरपालिका–१ का ४५ वर्षका सञ्जय न्यौपाने र बर्दिबासकै श्याम कार्की घाइते भएका छन्।
घाइते न्यौपानेको कम्मरमुनिको भागमा गोली लागेको छ। कार्कीको घाँटीमा गोली लागेको छ। न्यौपाने र कार्कीको अवस्था गम्भीर रहेकाले उनीहरूलाई हेलिकप्टरमार्फत् काठमाडौं पठाइएको छ।
याे पनि पढ्नुहाेस्:
गुलाव शाह खातुन हत्या प्रकरण : न्याय माग्दा रणभूमिमा परिणत भयो बर्दिबास!
स्थानीय पिनाकल अस्पतालमा प्राथमिक उपचारपश्चात उनीहरूलाई काठमाडौं पठाइएको हो। बर्दिबासका अफ्ताब आलमसहित एक दर्जनभन्दा बढी स्थानीयबासी प्रहरीको लाठी प्रहारबाट घाइते भएका छन्।
डिएसपीसहित १५ प्रहरी घाइते
यसैबीच, स्थानीयबासीको भीड नियन्त्रणका क्रममा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश बिष्टसहित १५ जना प्रहरी घाइते भएका छन्।
डिएसपी बिष्टको मुखमा ढुंगाले लागेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको हो। अन्य प्रहरीको पनि शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जानकारी दिएको छ।
महोत्तरीमा आइतबार साँझदेखि हराइरहेकी बालिकाको शव फेला परेको थियो। जिल्लाको बर्दिवास नगरपालिका–१४ का शहीद आलमकी ६ वर्षीया छोरी गुलाव साह खातुनको शव प्रहरीले सोमबार मध्यराति फेला पारेको हो। घरआँगन वरपर नै खेलिरहेकी खातुन आइतबार साँझ अचानक हराएपछि परिवारजन र प्रहरीले उनको खोजी गरिरहेको थियो।
बालिकाको शव बर्दिवास–१४ कै शुभम बस्ती नजिकको झाडीमा बोरामा खाँदेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ। बर्दिवास–१४ को शुभम बस्तीस्थित सामुदायिक परिवार कल्याण सङ्घको कार्यालयभन्दा पश्चिम बिकरु साहको घर पछाडिको विनोद साहको खाली जग्गामा खातुनको शव भेटिएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक राजन चापागाईँले जानकारी दिए।
बालिकाको नियोजित हत्या गरेको आशङ्कामा प्रहरीले जिल्लाकै गौशाला नगरपालिका–५ का २५ वर्षीय अरुणकुमार साहलाई पक्राउ गरेको छ। पक्राउ गरिएका साहले प्रारम्भिक सोधपुछमै खातुनको हत्या गरेको स्वीकार गरेका प्रहरी नायब उपरीक्षक चापागाईँले बताए।
घटना प्रकृति हेर्दा बालिकालाई बलात्कार गरेर हत्या भएको स्थानीयवासीले बताएका छन्। प्रहरीले भने शव परीक्षणपछि थप कुरा खुल्दै जाने जनाएको छ। शव परीक्षणका लागि प्रादेशिक अस्पताल पठाइएको र घटनास्थललाई घेरा हालेर प्रमाण सुरक्षित राखिएको प्रहरी नायब उपरीक्षक चापागाईंले बताएका छन्।