गैरआवासीय नेपाली संघ (एनआरएनए) विदेशमा रहने सम्पूर्ण नेपालीहरूको एक साझा र छाता संस्था हो। संघको स्थापनाकालदेखि सामुहिक नेतृत्वको भूमिकालाई ग्रहण गर्दै आएको थियो।
अहिले १७ वर्षको तरुण अवस्थामा प्रवेश गर्दा संस्थाको नेतृत्व र विधि प्रक्रियामा धेरै मनपरीतन्त्रको विकास भएको अनुभूति हुन लागेकोछ। संघको संस्थागत विकास र आमएनआरएनएहरूको जनविश्वास खस्किदै गइरहेको अवस्थाले संघको भविष्य पनि शंकाको दोधार परिस्थितिबाट गुज्रिँदैछ।
आफ्नो व्यक्तिगत स्वार्थसिद्ध गर्न पदको दुरुपयोग भइरहेकोछ। पदको दुरुपयोगले गैर कानूनी कार्यमा प्रोत्साहन र हौसलाले आर्थिक चलखेल, भ्रष्टाचार, र अपराधीकरणको विकास भएको जताततै छताछुल्लै भइ विधिविधानको परिधिलाई सीमाना पार गरिसकेको छ।
नेतृत्वको साँघुरो र पूर्वाग्रही विचारमा असहमत हुनेहरूलाई संघमा कुनै स्थान छैन, जबरजस्त बर्खास्त वा संघको अभियानबाट हटाउने धम्की र घुर्की तथा ठूलो चुनौतीको सामना गर्नु पर्ने गलत प्रवृत्तिको विकास भएको छ।
संघको निरन्तर गतिविधिको अभियानलाई अगाडि बढाउने योग्य र क्षमतावान व्यक्तित्वलाई निरुत्साही र कमजोर गर्ने मनोवृत्ति मौलाउँदै गएको छ। स्वार्थमा लिप्त पर्दा भित्रको सिन्डिकेटीय शक्ति केन्द्रले एनआरएनएको नेतृत्वलाई सधै आफ्नो पन्जाबाट बाहिर निस्किन नसक्ने जंगबहादुरको जस्तो रणनीतिको जाल बिछाइसकेको छ।
नवौं विश्व सम्मेलनबाट धाँधली र फर्जी मतको प्रयोग, नेकपा पार्टीको नेतृत्व केपी ओली सरकारको सत्ता र शक्तिलाई दुरूपयोग गरी दुई वर्षे कार्यकालको लागी एकतर्फी विजय घोषणा गरेको थियो।
निर्वाचन आयोगलाई समेत आफ्नो कब्जामा लिएर वर्तमान महासचिवको नातेदारलाई नवौं विश्व सम्मेलनको निर्वाचन मुख्य आयुक्त बनाइएको थियो। वर्तमान नेतृत्वले नेपाली राजनीतिबाट अलग रहने बाहिरी डम्फू जति बजाए पनि हालका अध्यक्ष, उपाध्यक्ष, महासचिव लगायतले नेपाल कम्युनिष्ट पार्टीको सदस्यता ग्रहण पछि मात्र केपी ओलीको आशिर्वाद प्राप्त गरेका थिए।
बालुवाटारमा भएको यस्तो विशेष समारोहमा नेकपाका प्रभावशाली नेता र कार्यकर्ताहरूको सहभागिता थियो। प्रधानमन्त्री केपी ओलीको निर्देशनमा नेकपाका प्रभावशाली नेता तथा संविधानसभाका पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको संयोजकतामा एनआरएनए निर्वाचन परिचालन ५ सदस्यीय समिति गठन भएको थियो।
एनआरएनए निर्वाचन परिचालन समितिका संयोजकलाई कुनै पनि हालतमा निर्वाचनको परिणाम आफ्नो पक्षमा हुनुपर्ने प्रधानमन्त्री केपी ओलीको निर्देशन थियो।
एनआरएनएको विश्व सम्मेलनको पहिलो दिनमा नै संघको प्रमुख निर्वाचन आयुक्तलाई बालुवाटार बोलाई प्रधानमन्त्री ओलीले एनआरएनएको नेतृत्व र बाकिँ कार्यसमितिका पदाधिकारीहरू आफ्नो निर्णयनुसार हुनु पर्ने निर्देशन दिएका थिए।
एनआरएनएको नेतृत्व र अरु बाकिँ पदाधिकारीहरूको पनि परिणाम प्रधानमन्त्रीको निर्देशनअनुसार नै सार्वजनिक गरियो। यसरी एनआरएनएको नेतृत्व हासिल गर्न सफल भएका अध्यक्ष र उपाध्यक्ष, महासचिव र सचिवले आम एनआरएनहरूलाई के कस्ता सन्देशमूलक नेतृत्व प्रदान गर्लान्?
यो अति नै सोचनीय र विचार गर्नुपर्ने अवस्था सिर्जना भएको छ। ओली सरकारबाट निर्देशित र आशिर्वाद ग्रहण गरेको एनआरएनएको नेतृत्वले आम एनआरएनहरूको मर्म, भावना र मान्यतालाई ठेस पुर्याउँदै सामाजिक र कल्याणकारी संस्थालाई विपरीत ध्रुवमा एकलौटी निरङ्कुशतातिर डोराउँदै छ।
विश्वव्यापी कोरोना महामारी कोभिड–१९ को प्रकोपबाट गुज्रिएको यस्तो कठिन परिस्थितिमा एनआरएनएको भूमिका शून्यको बराबरको अवस्थामा रहेको समयमा संघको आन्तरिक आर्थिक अनियमितता र भ्रष्टाचारबाट पीडित हुनु दुर्भाग्यपूर्ण हो।
एउटा सामाजिक र कल्याणकारी संस्थाले निर्वाह गर्नुपर्ने भूमिकाभन्दा पनि कसरी संस्थाको नेतृत्व सधैं आफ्नो पञ्जाभित्र राख्ने भन्ने संकुचित दरिद्र मानसिकताको पर्दा भित्रको सिण्डिकेटको निर्देशनमा एकीकृत नेपाली समाजलाई बिखण्डनको घेरातिर धकेल्दैछन्।
संयुक्त नेपाली समाजलाई राम्रो दृष्टिले हेर्न नसक्ने विखण्डनकारी शक्तिको आडभरोसामा १७ वर्षको तरुण एनआरएनएको छातीमा संगीन रोप्दै दुई फ्याक गर्ने प्रयासमा तल्लिन भएको नेतृत्वको घोर विरोध तथा भर्त्सना गर्नुको कुनै विकल्प छैन।
एनआरएनए आइसिसीको अध्यक्ष रहने देश जर्मनीको एनसीसी र महासचिव रहने देश युकेको एनसीसी भ्रष्टाचार, आर्थिक चलखेल तथा अनियमियतता र फर्जीमतको समस्याले ग्रसित भएको सार्वाजनिक हुँदा पनि अध्यक्ष र महासचिवको मौनताले निर्देशात्मक तथा रक्षात्मक सहमति, साथ सहयोग र सहभागिता भएको स्पष्ट संकेत गर्दछ।
एनआरएनए एनसीसी अमेरिकाको निर्वाचित नेतृत्वको अन्तिम वर्षको कार्यकालमा प्रवेश गर्दा पनि बदलाको भावनाले प्रभावित भई पञ्जीकृत सदस्यताको छानवीन समिति गठन गरी एनसिसी नेतृत्वलाई कमजोर र निरुत्साहित बनाउने कोसिसमा अध्यक्ष र महासचिव दिनरात हात धोएर लागिपरेका छन्।
एनआरएनए अमेरिकाको सुनिल शाह नेतृत्वले आइसिसीले गरेका भ्रष्टाचार, आर्थिक अनियमिता र फर्जी मतलाई आत्मसात नगर्नुको परिणाम निर्वाचित नेतृत्वलाई पूरा कार्यकाल असफल बनाउने कोसिसमा लागि रहनु दुर्भाग्य र विधिविधान विपरीत छ।
एनआरएनए आइसिसी नेतृत्व यति तल्लो तहमा गिरिसकेका छ कि एनआरएनए अमेरिकालाई टुक्राई अर्को आफ्नो इशारामा चल्ने एनआरएन गठन गर्ने सम्मको मनस्थितिमा अध्यक्ष र महासचिव अन्तिम निर्णयमा पुगेका छन्।
अब भन्न सकिन्छ यी धुर्तहरुको चलखेलले के एनआरएनए अमेरिका टुक्रिन्छ? यसको जिम्मेवारी कसले लिन्छ? यो सुन्दा एनआरएनएको अभियानमा समर्पित सबैलाई अति नै मर्माहत र स्तब्ध बनाउछ।
अर्को धेरै एनआरएनहरू बसोबास गर्ने मुलुक अष्ट्रेलियाको एनसिसी केशव कँडेलको नेतृत्वले पनि आइसिसीको नेतृत्वलाई धेरै ठूलो टाउको दुखाई बनाएको छ।
किनभने आइसिसीका गलत प्रवृत्ति र विकृतिको खुलेर बोल्न र विरोध गर्न सक्ने साहस एनआरएनए एनसीसी अष्ट्रेलियाको नेतृत्वमा भएकाले केशव कँडेल नेतृत्वलाई निरुत्साहित र कमजोर बनाउन हरप्रयास कोसिस गरीएको छ।
आफ्नो अगाडिको भैसी नदेख्ने अर्काको शरीरको लिखा खोज्ने आइसिसी नेतृत्वको गलत प्रवृत्तिको विकासले एनआरएनएको चार्म घट्दै विखण्डन र अवसानको दिशातिर गएको छ।
एनआरएनए नेतृत्वलाई पर्दा भित्रको सिण्डिकेटले सधैँभरि आफ्नो पञ्जाबाट नगुमाउन जंगबहादुरको भण्डारखाल र कोतपर्वको जस्तो रणनीतिक तयारीमा जुटेको छ।
एनआरएनए आइसिसी यस्तो गम्भीर परिस्थितिबाट गुज्रिनु नेतृत्वको असक्षमता र अयोग्यता तथा निर्णय शक्तिको कमजोरीले ग्रस्त हुँदा विश्वको ८३ देशहरूमा रहने ८० लाख एनआरएनहरूको भावना, मर्म र अधिकारमा खेलवाड भएको अवस्थामा आम एनआरएनहरू मौन बस्नु हुँदैन।
विश्वभर फैलिरहेको गैरआवासीय सिङ्गो नेपाली समाज सधैं एकीकृत तथा संगठित हुनैपर्छ भन्ने मान्यता हामीले राख्ने गर्दछौं, एकपटकको नेपाली सधैंको नेपाली, नेपाल र नेपालीका लागि नेपाली भन्ने हाम्रो राष्ट्रिय पहिचानलाई कसैको स्वार्थसित गासिनु र साटिनु हुँंदैन।
निस्वार्थ भावनाले सबै ८३ मुलुकका ८० लाख एनआरएनहरू एकजुट हौंं। वर्तमान नेतृत्वले आफ्नो स्वार्थसिद्धका लागि अपनाएको जंगबहादुरको जस्तो रणनीतिलाई खुलेर विरोध र भत्सर्ना गरौं।
जय एनआरएनए!