महोत्तरीको बर्दिबासकी ६ वर्षीया बालिका गुलाव शाह खातुनको हत्यामा सलग्नलाई कारबाहीको मागसहित प्रदर्शनमा उत्रिएका स्थानीयबासीमाथि प्रहरीले चलाएको गोली लगाएर घाइते भएका एक व्यक्तिको मृत्यु भएको छ।
प्रदर्शनका क्रममा घाइते भएका बर्दिबास नगरपालिका–१ का ४५ वर्षका सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको हो। न्यौपानेको उपचारका क्रममा मध्यरातमा १२ बजेर ४ मिनेटमा मृत्यु भएको ग्रान्डी इन्टरनेशनल हस्पिटलका प्रबन्ध निर्देशक विकासमान सिंहले बताएका छन्।
न्यौपानेको कम्मरमुनिको भागमा गोली लागेको थियो।
६ वर्षीया बालिकाको हत्यापछि न्यायको माग गर्दै महोत्तरी जिल्लाको बर्दिबासका स्थानीयबासी प्रदर्शनमा उत्रिएका थिए। स्थानीयबासीको प्रदर्शन उत्कर्षमा पुगेपछि प्रहरी परिचालन गरिएकाे थियाे। पूर्व–पश्चिम राजमार्ग र वीपी राजमार्ग अवरुद्ध गरेर सर्वसाधारणले प्रदर्शन गरे।
प्रदर्शनमा उत्रिएका स्थानीयबासीको माग न्यायाेचित थियाे। बर्दिबास नगरपालिका–१४ स्थित शुभम् वस्तीकी बालिका ६ वर्षीया गुलाव शाह खातुनको हत्यामा संलग्नलाई पक्राउ र पीडित पक्षलाई क्षतिपूर्तिको माग राखेर उनीहरूले प्रदर्शन गरेका हुन्।
सडक अवरुद्ध भएपछि बल प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भयो। त्यसपछि स्थिति प्रहरी र स्थानीयबासीका लागि प्रतिकुल हुन पुग्यो। प्रहरीले चलाएको गोली लागेर दुई जना घाइते भएका छन्। महोत्तरीमा उपचार हुन नसकेपछि दुई जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको हो।
स्थानीयबासीले पूर्वपश्चिम राजमार्ग र वीपी राजमार्गमा अवरोध खडा गरी प्रदर्शन गरेका थिए। घटनास्थलमा परिचालित प्रहरीमाथि स्थानीयबासीले ढुंगा प्रहार गर्न थालेपछि प्रहरीले गोली चलाएको हो।
स्थानीय शिवनारायण कार्कीले न्यायको पक्षमा प्रदर्शनमा उत्रिएको सर्वसाधारणमाथि प्रहरीले बल प्रयोग गरेपछि घटना भएको बताए। तर, प्रहरीले सडक खुलाउने क्रममा प्रदर्शनकारीले ढुंगा प्रहार गरेको दावी गरेको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार गोली लागेर बर्दिबास नगरपालिका–१ का ४५ वर्षका न्यौपाने र बर्दिबासकै श्याम कार्की घाइते भएका थिए। न्याैपानेकाे मंगलबार मध्यरातमा मृत्यु भयाे। अर्का घाइते कार्कीकाे उपचार हुँदैछ।
कार्कीको घाँटीमा गोली लागेको छ। न्यौपाने र कार्कीको अवस्था गम्भीर भएपछि हिजै उनीहरूलाई हेलिकप्टरमार्फत् काठमाडौं पठाइएको थियाे।
स्थानीय पिनाकल अस्पतालमा प्राथमिक उपचारपश्चात उनीहरूलाई काठमाडौं पठाइएको हो। बर्दिबासका अफ्ताब आलमसहित एक दर्जनभन्दा बढी स्थानीयबासी प्रहरीको लाठी प्रहारबाट घाइते भएका छन्।
डिएसपीसहित १५ प्रहरी घाइते
यसैबीच, स्थानीयबासीको भीड नियन्त्रणका क्रममा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश बिष्टसहित १५ जना प्रहरी घाइते भएका छन्।
डिएसपी बिष्टको मुखमा ढुंगाले लागेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको हो। अन्य प्रहरीको पनि शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जानकारी दिएको छ।
महोत्तरीमा आइतबार साँझदेखि हराइरहेकी बालिकाको शव फेला परेको थियो। जिल्लाको बर्दिवास नगरपालिका–१४ का शहीद आलमकी ६ वर्षीया छोरी गुलाव साह खातुनको शव प्रहरीले सोमबार मध्यराति फेला पारेको हो।
घरआँगन वरपर नै खेलिरहेकी खातुन आइतबार साँझ अचानक हराएपछि परिवारजन र प्रहरीले उनको खोजी गरिरहेको थियो। बालिकाको शव बर्दिवास–१४ कै शुभम् वस्ती नजिकको झाडीमा बोरामा खाँदेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बर्दिबासले जानकारी दिएको छ।
बर्दिबास–१४ को शुभम बस्तीस्थित सामुदायिक परिवार कल्याण संघको कार्यालयभन्दा पश्चिम बिकरु साहको घर पछाडिको विनोद साहको खाली जग्गामा खातुनको शव भेटिएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक राजन चापागाईंले जानकारी दिए।
बालिकाको नियोजित हत्या गरेको आशंकामा प्रहरीले जिल्लाकै गौशाला नगरपालिका–५ का २५ वर्षीय अरुणकुमार साहलाई पक्राउ गरेको छ। पक्राउ गरिएका साहले प्रारम्भिक सोधपुछमै खातुनको हत्या गरेको स्वीकार गरेका प्रहरी नायव उपरीक्षक चापागाईंले बताएका छन्।
घटना प्रकृति हेर्दा बालिकालाई बलात्कार गरेर हत्या भएको प्रहरीको भनाई छ। यद्यपि, प्रहरीले शव परीक्षणपछि थप कुरा खुल्दै जाने प्रष्ट पारेको छ। शव परीक्षणका लागि प्रादेशिक अस्पताल पठाइएको छ।
घटनास्थललाई घेरा हालेर प्रमाण सुरक्षित राखिएको प्रहरी नायब उपरीक्षक चापागाईंले बताएका छन्। घटनापछि स्थिति सामान्य बनाउनका लागि प्रहरी परिचालन गरिएको छ। आज पनि स्थानीयबासीकाे प्रदर्शनलाई ध्यानमा राखेर बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएकाे छ।