महोत्तरी – महोत्तरी बर्दीबासमा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका एक जना प्रदर्शनकारीको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले बर्दिबासमा निषेधाज्ञा लगाएको छ। प्रहरीले चलाएको गोली लागेर घाइते भएका बर्दिबास नगरपालिका वडा नम्बर १ का ४२ वर्षीय सञ्जय भन्ने बुद्धिराम न्यौपानेको गए राति मृत्यु भएको थियो।
मंगलबार दुबै तीघ्रामा गोली लागेका न्यौपानेलाई हेलिकप्टरबाट ग्राण्डी अस्पताल ल्याएर उपचार गरिएको थियो। न्यौपानेको मृत्युपछि बुधबार बिहानदेखि नै बर्दिबासमा प्रदर्शन भइरहेका छन्। थप प्रदर्शन हुन नदिन भन्दै प्रशासनले आज बिहान ९ बजेदेखि भोलि बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा लागू गरेको छ।
बर्दिवास नगरपालिकाको पूर्वमा वार्ड नं १ को रातो खोला, पश्चिम मा वार्ड नं ५ को माइस्थान, उत्तरमा वार्ड नं ३ को गौरीवास (पाटु) र दक्षिणमा वार्ड नं ८ को हात्तीलेट क्वार्टर चौकसम्म भोलि बिहानसम्मकाे लागि निषेधाज्ञा लागू गरेको हाे। राजमार्ग क्षेत्रमा ठूलो संख्यामा प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ।
बर्दिवास नगरपालिका–१४ का सहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको शव सोमबार मध्यराति फेला परेको थियो। बस्तीबाटै हराएकी खातुनको शव हत्या गरेर बोरामा राखेर झाडीमा फालेको अवस्थामा भेटिएको थियो।
बालिका हत्या आरोपमा प्रहरीले गौशाला नगरपालिका ५ घर भई बर्दिवास नगरपालिका १४ बस्ने २५ वर्षीय अरुण कुमार साहलाई पक्राउ गरेको छ। हत्याको आरोप लागेका साहको घरमा मंगलबार बिहान आक्रोशित स्थानीयले आगजनीसमेत गरेका थिए।