बाँदरको शिकार खेल्न जङ्गल गएका एक राउटे किशोरको भिरबाट लडेर मृत्यु भएको छ। सुर्खेतको चिङ्गाड गाउँपालिकाको मेटलामा मङ्गलबार १६ वर्षीय टेकराज शाहीको भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो।
राउटे समुदायमा कार्यरत सामाजिक कार्यकर्ता लालबहादुर खत्रीले मृतक टेकराजलाई समुदायका अगुवाले मङ्गलबार साँझै गाडिसकेको बताए। आफ्ना सदस्यको मृत्यु भएसँगै राउटे समुदाय बस्ती सर्ने तयारीमा जुटेको छ।
राउटेहरुमा समुदायका कुनै सदस्यको मृत्यु भएमा बसाइँ सर्ने प्रचलन छ। हाल यो समुदाय चिङ्गाड गाउँपालिका–५ मा पर्ने मेटलाखोला किनारमा छ। जङ्गलमा फिरन्ते जीवन बिताउने लोपोन्मुख राउटे समुदायको सङ्ख्या १४५ रहेको छ।