महोत्तरीको बर्दिबासमा निषेधाज्ञा लागू गरे पनि प्रदर्शन भने भइरहेको छ। प्रहरीको गोली लागेर घाइते बुद्धिराज न्यौपानेको मृत्युपछि बिहानैदेखि न्यौपानेलाई शहिद घोषणा गर्नुपर्ने माग राखेर प्रदर्शन भइरहेको हो।
प्रदर्शनमा प्रदेश नम्बर २ की प्रदेशसभा सांसदसमेत रहेकी नेकपा नेतृ शारदा थापाको पनि सहभागिता रहेको छ। जिल्ला प्रशासन कार्यालयले आज बिहान ९ बजेदेखि भोलि बिहान ६ बजेसम्मको लागि निषेधाज्ञा गरी मानिसहरू भेला हुन रोक लगाएको छ।
प्रदर्शनकारीले बुधबार बिहानैदेखि पूर्वपश्चिम राजमार्गमा प्रदर्शन जारी राखेका हुन्। राजमार्गमा सवारी साधन चलेका छैनन्।
बर्दिबास सेवा समितिले आयोजना गरेको सर्वपक्षिय बैठकले न्यौपानेलाई शहीद घोषणा गर्नुपर्ने, आन्दोलनका घाइतेलाई उपचार र राहत दिनुपर्ने, आन्दोलनमा गोली चलाउन निर्देशन दिनेलाई तुरुन्त निलम्बन गरेर बर्खास्त गर्नुपर्ने र ६ वर्षिया बालिकाको हत्यारालाई कडा कारवाही गर्न उनीहरूको माग रहेको छ।