महोत्तरीको बर्दिबास नगरपालिका–१४ स्थित शुभम् वस्तीकी बालिका ६ वर्षीया गुलाव शाह खातुनको हत्यापछि न्यायको माग गर्दै शुरु भएको प्रदर्शन बुधबार दिउँसोसम्म पनि जारी छ।
मंगलबार स्थानीयको प्रदर्शनका क्रममा गोली लागेर एक व्यक्तिको मृत्यु भएपछि स्थानीयबासीले आन्दोलन चर्काएका हुन्। महोत्तरीको बर्दिबासमा निषेधाज्ञा लागू गरिए पनि प्रदर्शन जारी छ।
प्रहरीको गोली लागेर घाइते भएका बर्दिबास नगरपालिका–१ का ४५ वर्षका सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएपछि स्थानीयबासीले आन्दोलन झनै तीव्र पारेका हुन्।
संघर्ष र वार्ता समिति गठन
स्थानीयबासीले आन्दोलन चर्काउँदै गर्दा पीडित पक्षले संघर्ष र वार्ता समिति गठन गरेको छ। नेपाली कांग्रेस महासमिति सदस्य तथा सामाजिक अगुवा चिरञ्जीवी हमालको नेतृत्व संघर्ष समिति बनाइएको हो।
हमाल नेतृत्वको ९ सदस्यीय समितिले प्रशासनसँग वार्ता गर्ने छ। इलाका प्रहरी कार्यायलमा सर्वदलीय वार्ता हुँदैछ। महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले वार्ताबाट उत्पन्न समस्याको समाधान खोजिने बताए।
‘सर्वपक्षीय संवादका लागि हामी जुटिरहेको छौं, वार्ताबाट आएको निष्कर्ष गृह मन्त्रालयमा पठाउँछौं,’ प्रजिअ कटुवालले नेपाली पब्लिकसँग भने।
शहीद घोषणा र क्षतिपूर्तिको माग
बर्दिबास नगरपालिका–१ का ४५ वर्षका सञ्जय भनिने बुद्धिराज न्यौपानेको घोषणा गर्नुपर्ने माग राखेर प्रदर्शन भइरहेको छ। ‘हामी संघर्ष र वार्ता एकैसाथ अघि बढाउँछौं, मृतकलाई शहीद घोषणा गर्नुपर्ने र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने हाम्रो माग हो,’ संघर्ष समितिका संयोजक हमालले भने।
हमालका अनुसार मध्यम् वर्गीय परिवारका न्यौपानेको परिवारमा आमाबुवा, श्रीमती, दुई छोरी र एक छाेरा छन्। न्यौपाने नै परिवार मुली भएकाले क्षतिपूर्तिसँगै छोराहरूको पढाईको समेत प्रबन्ध सरकारले गर्नुपर्ने माग राखिएको हमालले बताए।
प्रदर्शन जारी, प्रहरी संयमित
जिल्ला प्रशासन कार्यालयले बुधबार बिहान ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरे पनि प्रदर्शन रोकिएको छैन।
प्रदर्शनकारीले बुधबार बिहानैदेखि पूर्वपश्चिम राजमार्गमा प्रदर्शन जारी राखेका छन्। राजमार्गमा सवारी साधन चलेका छैनन्।
न्यौपानेलाई शहीद घोषणा गर्नुपर्ने, आन्दोलनका घाइतेलाई उपचार र राहत दिनुपर्ने, आन्दोलनमा गोली चलाउन निर्देशन दिनेलाई तुरुन्त निलम्बन गरेर बर्खास्त गर्नुपर्ने र ६ वर्षीया बालिकाका हत्यारालाई कडा कारबाही गर्न संघर्ष समितिको माग छ।
६ वर्षीया बालिकाको हत्यापछि न्यायको माग गर्दै महोत्तरी जिल्लाको बर्दिबासका स्थानीयबासी प्रदर्शनमा उत्रिएका हुन्। मंगलबार स्थानीयबासीको प्रदर्शन उत्कर्षमा पुगेपछि प्रहरी परिचालन गरिएको थियो।
प्रहरीले चलाएको गोली लागेर दुई जना घाइते भएका थिए। महोत्तरीमा उपचार हुन नसकेपछि दुई जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको थियो। गम्भीर घाइते बर्दिबासका श्याम कार्कीको ग्राण्डी हस्पिटलमा उपचार भइरहेको छ। कार्कीको घाँटीमा गोली लागेको छ।
त्यसैगरी, बर्दिबासका अफ्ताब आलमसहित एक दर्जनभन्दा बढी स्थानीयबासी प्रहरीको लाठी प्रहारबाट घाइते भएका छन्। स्थानीयबासीको भीड नियन्त्रणका क्रममा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश बिष्टसहित १५ जना प्रहरी घाइते भएका छन्।
डिएसपी बिष्टको मुखमा ढुंगाले लागेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको हो। अन्य प्रहरीको पनि शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जानकारी दिएको छ।
महोत्तरीमा आइतबार साँझदेखि हराइरहेकी बालिकाको शव फेला परेको थियो। जिल्लाको बर्दिबास नगरपालिका–१४ का शहीद आलमकी ६ वर्षीया छोरी गुलाव शाह खातुनको शव प्रहरीले सोमबार मध्यराति फेला पारेको थियो।
घरआँगन वरपर नै खेलिरहेकी खातुन आइतबार साँझ अचानक हराएपछि परिवारजन र प्रहरीले उनको खोजी गरिरहेको थियो। बालिकाको शव बर्दिबास–१४ कै शुभम् वस्ती नजिकको झाडीमा बोरामा खाँदेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बर्दिबासले जानकारी दिएको छ।
बर्दिबास–१४ को शुभम बस्तीस्थित सामुदायिक परिवार कल्याण संघको कार्यालयभन्दा पश्चिम बिकरु साहको घर पछाडिको विनोद साहको खाली जग्गामा खातुनको शव भेटिएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक राजन चापागाईंले जानकारी दिए।
बालिकाको नियोजित हत्या गरेको आशंकामा प्रहरीले जिल्लाकै गौशाला नगरपालिका–५ का २५ वर्षीय अरुणकुमार साहलाई पक्राउ गरेको छ। पक्राउ गरिएका साहले प्रारम्भिक सोधपुछमै खातुनको हत्या गरेको स्वीकार गरेका प्रहरी नायव उपरीक्षक चापागाईंले बताएका छन्।
घटना प्रकृति हेर्दा बालिकालाई बलात्कार गरेर हत्या भएको प्रहरीको भनाई छ। यद्यपि, प्रहरीले शव परीक्षणपछि थप कुरा खुल्दै जाने प्रष्ट पारेको छ। शव परीक्षणका लागि प्रादेशिक अस्पताल पठाइएको छ।
घटनास्थललाई घेरा हालेर प्रमाण सुरक्षित राखिएको प्रहरी नायब उपरीक्षक चापागाईंले बताएका छन्। घटनापछि स्थिति सामान्य बनाउनका लागि प्रहरी परिचालन गरिएको छ। आज पनि स्थानीयबासीको प्रदर्शनलाई ध्यानमा राखेर बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ।