जुम्लाको चन्दननाथ नगरपालिका– ४ स्थित सिद्धिविनायक सामुदायिक वनमा आगलागी हुँदा सो वनको डेढ हेक्टर वनक्षेत्रमा क्षति भएको छ। सो वनको डेढ हेक्टर क्षेत्रमा मङ्गलबार आगलागी हुँदा करीब एक हजार ५०० देखि दुई हजारसम्मका साना बिरुवा तथा ठूला रुखलाई असर परेको छ।
साना बिरुवा जलेर नष्ट भए पनि ठूला रुखलाई सामान्य असर पारेको स्थानीयवासीले बताएका छन्। स्याउला र सोतर लिन वनमा गएका महिलाको लापरवाहीले आगलागी भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख माधव काफ्लेले बताए।
नेपाल प्रहरी, नेपाली सेना, स्थानीयवासी तथा वन कार्यालयका कर्मचारीको सहभागितामा मङ्गलबार आगलागी नियन्त्रण भएको सिद्धिविनायक सामुदायिक वनका सचिव देवीप्रसाद सिंखाडाले बताए। वनमा आगलागी हुँदा साना तथा ठूला सयौं रुखबिरुवा जलेर नष्ट भएको छ।
उनले भने,‘समयमै पुगेका नेपाली सैनिक, प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगका कारण ठूलो क्षति हुनबाट जोगिएको छ।’ जिल्ला वन कार्यालय जुम्लाका सहायक वन अधिकृत भावना शाहीले आगलागी हुँदा देवदियार तथा सल्लाका सयाैं साना बिरुवा जलेर नष्ट भएको र अब चाँडै त्यहाँ वृक्षरोपण गरिने बताए।
वनमा जाँदा सावधानी नपआनाएकै कारण वन क्षेत्र आगलागीको चपेटामा परिरहेकाले सबैलाई सचेत रहन वन कार्यालय जुम्लाले आग्रह गरेको छ।