अन्तर्राष्ट्रिय टी–२० सिरिज र टेष्ट क्रिकेट सिरिजका लागि न्यूजिल्याण्ड पुगेको पाकिस्तानी क्रिकेट टोलीको ६ सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ। न्युजिल्याण्ड राष्ट्रिय क्रिकेट टोलीको विज्ञप्तिअनुसार ६ जनामा संक्रमण पुष्टि भएको हो।
कोरोना संक्रमण हुनेमा पाकिस्तानी खेलाडी वा भ्रमण टोलीका अन्य सदस्य को हुन् भन्ने खुलाइएको छैन। २४ नोभेम्बरमा न्युजिल्याण्ड पुगेको पाकिस्तानी टोलीको कोरोना परीक्षण गरिएको थियो।
भ्रमण टोलीको प्रत्येक सदस्यले आइसोलेसनमा बसी कम्तीमा चार पटक कोरोना परीक्षण गर्नुपर्नेछ। संक्रमित ६ जनालाई क्राइस्टचर्च क्वारेन्टाइनमा पठाइएको छ। यससँगै पाकिस्तानी टोलीले हाल ट्रेनिङ गर्न नपाउने भएको छ।
पाकिस्तानी टोलीका केहि सदस्यले नियमको उल्लंघन गरेको बताइएको छ। नियमको उल्लंघन गरेको कारण पाकिस्तानी टोलीलाई अन्तिम चेतावनी दिइएकोे न्युजिल्याण्डको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
पाकिस्तान र न्यूजिल्याण्डबीच तीन खेलको टी–२० सिरिज डिसेम्बर १८, २० र २२ हुनेछ। २ खेलको टेष्ट सिरिज डिसेम्बर २६ देखि ३० र सन् २०२१ को जनवरी ३ देखि ७ सम्म हुनेछ।