प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रले तेरो मेरो नभन्ने बताएका छन्। बालुवाटारमा बिहीबार नेपाल उद्योग वाणिज्य महासंघको ५४ औँ साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रका निम्ति उत्पादन गरिहेका, राष्ट्रका निम्ति रोजगारी दिइरहेका, कर तिरिरहेका, राज्यका लागि काम गरिहेका सबै राज्यका लागि समान रहेको बताएका हुन्।
राज्यले सबैलाई कानुनसम्मत ढंगले संरक्षण र सुरक्षा दिने ओलीले बताए। ‘दलाल पुँजीवाद, नवउदारवादलाई प्रधानमन्त्रीले प्रश्रय दियो, पुँजीवादीलाई प्रश्रय दियो भनेर उद्योगी व्यवसायीहरुलाई त्रसित बनाउने अभिव्यक्ति आएर तपाईहरुलाई नराम्रो लागेको हुन सक्छ’ प्रधानमन्त्री ओलीले भने, ‘म तपाईहरुलाई प्रष्ट पार्न चाहान्छु, उद्योगी व्यवसायीहरु मेरो वा तेरो होइन।’
प्रधानमन्त्री ओलीले नेपालका उद्योग व्यवसाय व्यापार सेवाका क्षेत्रहरु वा अन्य व्यवसायहरुलाई साथ सहयोग दिन सरकार सधै तयार रहेको प्रष्ट पारेका छन्। त्यस्तै उनले सरकारले के–के गर्नुपर्छ भन्ने कुरा साधारणसभाबाट निष्कर्ष निकाल्नसमेत उद्योगीहरुसँग आग्रह गरेका छन्।
प्रधानमन्त्री ओलीले स्वदेशी उद्योगपतिहरुलाई सबल बनाउन आवश्य रहेको बताए। उनले आफ्नो सबल बनाउन सकेको भए बाहिरका खोज्नु नपर्ने बताए।
सरकारले विदेशी पुँजी आमन्त्रण गरिरहेको र यसका लागि सहुलियत दिइरहेको बताउँदै ओलीले नेपाली उद्यमीहरुलाई विदेशमा लगानी नलैजान आग्रह गरे। प्रधानमन्त्रीले भने, ‘हामीले देशप्रति माया गर्नुर्पयो। हाम्रोमा लगानीको अवसर सकिएको छैन। अझ धेरै छन्। हाम्रोमा श्रम बजार सस्तो छ। यसकारण पनि तपाईहरुको उद्यम नाफामा जान्छ।’
बिहीबारदेखि सुरु भएको नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा पर्सीसम्म चल्ने छ। यो साधारण सभाले महांघको नयाँ नेतृत्व चयन गर्ने छ।