गैरआवासीय नेपाली संघ एनआरएनएमा कुमार पन्त अध्यक्ष भएपछि कयौं फर्जी कामको फेहरिस्त सार्वजनिक हुन थालेका छन्। कतिसम्म भने अध्यक्ष पन्तले जर्मनीमै पनि ठूलो कीर्ते र फर्जी गरेको खुलासा भएको हो।
अवैध तरिकाले सदस्यता वितरण र आर्थिक अनियमिता भएको पुष्टि भएको छ। यस विषयमा छानवीनका लागि उजुरी परेको छ। अवैध सदस्यता वितरण र आर्थिक अनियमितताको जानकारी पाएपछि पूर्व सल्लाहकार एनआरएनए जर्मनी र एनआरएनए एनआरड्ब्लू क्षेत्रीय पूर्व संयोजक शिखर खड्काले उजुरी दिएका हुन्।
छानवीनको माग गर्दै खड्काले दिएको निवेदनमा भनिएको छ, ‘९औं विश्व सम्मेलनका बारेमा भएको धाधली र फर्जी मतको चर्चापरिचर्चा भइरहँदा अध्यक्ष स्वयं बस्ने एनआरएनए जर्मनीको अवस्थालाई बुझ्न कोसिस गरौं र सत्य तथ्यको पनि खोजतलास गर्न अति आवाश्यक छ। एनआरएनए जर्मनीको सातौं अधिवेशन १४ सेप्टेम्बर २०१९ मा फ्रांकफर्टमा सहमति भई १५ सेप्टेम्बर २०१९ का दिन बर्लिनमा हरि न्यौपानेको नेतृत्वमा सफथग्रहण भएको थियो,’ खड्काले पृष्ठभूमिमा भनेका छन्।
एनआरएनए जर्मनीको नेतृत्व चयन हुँदा उषा शर्मा संयोजक रहेको निर्वाचन समितिले १५ युरोको दस्तुर दिएर बनेका पञ्जीकृत सदस्य संख्या जम्मा ९ सय ८० लाई सार्वजनिक गरेको निवेदनमा उल्लेख गरिएको छ।
तर, नवौं विश्व सम्मेलनमा एनआरएनए जर्मनीको पञ्जीकृत सदस्य संख्या दुई गुणाभन्दा बढी अर्थात् २ हजार ३९ देखाएको खड्काले उल्लेख गरेका छन्।
‘अनि १ सय २६ जना विश्व सम्मेलन प्रतिनिधिहरूको नाम लिस्ट तयार गरियो, अहिलेसम्म एनआरएनए जर्मनीको खातामा ९ सय ८० जनाको मात्र रकम जम्मा भएको छ, बाँकी १ हजार ५९ जनाको सदस्यता दस्तुर १५ हजार ८ सय ८५ युरो एनआरएनए जर्मनीको खातामा आएको छैन,’ खड्काले भनेका छन्।
खड्काका अनुसार जम्मा सदस्य संख्या २ हजार ३९ को जम्मा रकम ३० हजार ५ सय ८५ हुनु पर्ने भए पनि फर्जी बनाइएका १ हजार ५९ सदस्यहरूको नाम ठेगाना सबै फर्जी लेखिएको प्रमाणहरू बाहिरिएका छन्।
‘२ हजार ३९ जना पञ्जीकृत सदस्य र १ सय २६ जना विश्व सम्मेलन प्रतिनिधिहरूको नाम लिष्ट सार्वजनिक गर्न आइसिसी अध्यक्षज्यूलाई हार्दिक अनुरोध गर्दछु,’ खड्काले भनेका छन्, ‘२०३९ जना पञ्जीकृत सदस्यहरूको १५ युरोका दरले ३० हजार ५ सय ८५ युरो एनआरएनए जर्मनीको खातामा आजसम्म किन आएन? आइसिसी कोषाध्यक्षज्यूले छानवीन गर्न हार्दिक अनुरोध पनि गर्दछु।’
एनआरएनएको विधानले ‘२ वर्ष सार्क देशभन्दा बाहिर रहेका विद्यार्थी र दूताबासमा काम गर्ने कर्मचारीलाई छाडेर’ भन्ने मान्यता दिएको छ। तर, एनआरएनए जर्मनीबाट विश्व सम्मेलनमा धेरै विद्यार्थी र ३ महिने भिजिटमा जर्मनी आएका व्यक्तिहरूलाई पनि प्रतिनिधि बनाएको थियो।
‘यस्तो अनियमिता र फर्जी भएको हुनाले यसको तुरुन्त आइसिसीको विज्ञ टोलीले छानवीन गर्न अनुरोध गर्दछु, म एनआरएनए जर्मनिको पुर्व सल्लाहकार र एनआरड्ब्लुको पूर्व क्षेत्रीय संयोजक तथा हाल नेपाली जनसम्पर्क समितिजर्मनीको सभापति र २५ वर्षको जर्मनीको बसाईको अनुभवमा माथि लेखिएका फर्जी र अनियमितालाई निराकरण गर्न छानवीन भइ सार्वजनिक गर्न अनुरोध गर्दछु,’ खड्काको माग छ।
‘जर्मनीको कानून अनुसार विधि विधान र प्रक्रियाले एनआरएनए जर्मनी, जिल्ला अदालत म्युनिखमा संघका अध्यक्ष हरि न्यौपानेको नाममा ३० सेप्टेम्बर २०२० मा २०७९४६ नम्बरमा दर्ता भएको एउटा सामाजिक र कल्याणकारी संस्था हो,’ उनले भनेका छन्।
यदि एनआरएनए जर्मनीमा भएको अनियमितता आर्थिक घोटाला तथा फर्जी पञ्जीकृत सदस्यता र विश्व सम्मेलनका फर्जी प्रतिनिधिहरूको आइसिसीले छानवीन र आवश्यक काम कारबाहीलाई छिटोभन्दा छिटो नगरे कानूनी कारबाहीका लागी अदालत जान बाध्य हुने चेतावनी पनि खड्काले दिएका छन्।
खड्काले निवेदनसँगै एनआरएनएका पूर्व अध्यक्षहरू डा. उपेन्द्र महतो, देवमान हिराचन, जीवा लामिछाने, डा. शेष घले र भवन भट्टलाई बोधार्थ दिएका छन्।
त्यसैगरी, महासचिव डा. हेमराज शर्मा, युरोप संयोजक नारायण आचार्य, युरोप उपसंयोजकहरू शुक्रराज न्यौपाने, मुक्त गुरुङ र कृष्ण तिमल्सिना, एनआरएनए जर्मनीका संस्थापक अध्यक्ष दिलबहादुर गुरुङ, एनआरएनए अभियन्ता रामप्रताप थापालाई पनि बोधार्थ दिएका छन्।
पत्रमा एनआरएनए जर्मनीका अध्यक्ष हरि न्यौपाने तथा जर्मनीका आइसिसी सदस्यद्वय विजय मोक्तान र प्रेम पोमुलाई पनि बोधार्थ दिएर खड्काले उजुरी दिएका छन्। एनआरएनए जर्मनीका अध्यक्ष हरि न्यौपानेलाई यस विषयमा बुझ्न म्यासेज र कल गर्दा उनले रिसिभ गरेनन्।