काेरोना भाइरसको जोखिमबीच देशभरका विद्यालयहरु खुल्न थालेका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कात्तिक २० मा विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा स्वीकृत गरेलगत्तै स्थानीय तहहरूले विद्यालय खुलाउने निर्णय गरिरहेका छन्।
पछिल्लो समय यो क्रम बढेको छ। देशभरका विद्यालयहरु धमाधम खुल्न थालेका छन्। यसैबीच मोरङका विभिन्न स्थानीय तहहरुले विद्यालय खोल्ने तयारी गरेका छन्। लामो समयसम्म बन्द रहेका शैक्षिक संस्थाहरु स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गरिने बताइएको छ।
मोरङको कटहरी गाउँपालिकाका, रतुवामाई नगरपालिका, रंगेली नगरपालिका, धनपालथान गाउँपालिका, सुनवर्शी नगरपालिका, जहदा गाउँपालिकाले विद्यालय खोल्ने तयारी गरेका छन्। केही पालिकाले यसअघि नै विद्यालय खोलि पठनपाठन शुरु गरिसकेका छन्।
तर, जाडो मौसम शुरु भएसँगै कोरोना जोखिम उच्च भएको विज्ञहरु बताउँछन्। यस्तो समयमा विद्यालय खोलिएमा विद्यार्थीहरुमा कोरोना संक्रमणको जोखिम बढ्ने विज्ञहरुको भनाइ छ।