बिरामीको उपचार गर्ने बहानामा निर्वस्त्र पारेर यौन दुर्व्यवहार गर्ने कथित धामी झाँक्रीलाई पक्राउ गरेको छ। घटना उदयपुरको हो।
जिल्ला प्रहरी कार्यालय उदयपुरले त्रियुगा नगरपालिका १० बस्ने ३९ धामी अर्जुन भन्ने चुडामणि श्रेष्ठ र माता भन्ने वर्षीय जुना राईलाई हिरासतमा लिएको हो।
उदयपुरका प्रहरी प्रमुख भीमबहादुर दाहालले मन्दिरजस्तो थान बनाइ १३ वर्षदेखि सर्वसाधारणलाई ठग्ने गरेको खुलेको बताएका छन्।
आफू धामी भएको र झारफुक गरी रोग निको पारिदिने प्रचार गरी निज जुना राईको सम्पर्कमा आएका २ जना बिरामीहरूको उपचार गर्ने बहानामा महिलाहरूलाई दुवैजनाले मंसिर १० गते पनि यौन दुर्व्यवहार गरेका थिए।
उपचार गर्ने क्रममा माता उतार्नुपर्ने बताउने अभियुक्तहरूले १ लाख रुपैयाँ, सुनको औँठी र सिक्री पनि पीडितसँग मागेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
उपचारको बहानामा ३५ हजार लिइसकेको खुलेको प्रहरी अनुसन्धानबाट देखिएको छ। जुनाले महिलाहरूलाई र अर्जुनले पुरुषलाई निर्वस्त्र बनेर उपचार गर्छन्।
‘तिमीहरूबीच लोग्ने स्वास्नीको व्यवहार हुन्छ, त्यो कुरा कसैलाई नभन्नु’ भन्दै फकाउने र यौनदुर्व्यवहार गर्ने गरेको पीडितले बताएका छन्।
उपचार गर्ने आएका दुवै महिला विवाहित हुन्। एक महिला जंगली लागेको र एक महिला पेट दुख्ने तथा सन्तान नभएको बताउँदै उपचार गर्न आएका थिए।।
अभियुक्तहरूले सहमतिमै यस्तो काम गर्दै आएको स्वीकार गरेको प्रहरीको भनाई छ। उनीहरू छिमेकी हुन्। ग्राहकबाट प्राप्त सुन र पैसा एकआपसमा सल्लाह गरेर बाँड्ने गरेको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ।
यसअघि पनि अभियुक्तहरूले धेरै महिलाहरूलाई उपचार गर्ने बहानामा ठगी गरेको मौखिक जानकारी प्रहरीलाई आएको भए पनि लिखित उजुरी नआएका कारण प्रहरीले कारबाही अघि बढाउन सकेको थिएन।
दुवै अभियुक्तलाई यौनशोषण र ठगीमा मुद्दा दर्ता गरी अनुसन्धान गरी उदयपुर जिल्ला अदालतमा थुनछेक बहसमा उपस्थिति गरिएको थियो। जिल्ला अदालतले श्रेष्ठलाई पुर्पक्षका लागि उदयपुर कारागार पठाउन आदेश दिएको छ। राई ८५ हजार धरौटीमा छुटेकी छिन्।