अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष मुकुन्दराज रोकाकी श्रीमती र जीप चालकको शव फेला परेको छ। तर, छोरीको शव अझै फेला परेको छैन।
रोकाकी श्रीमती जमुना रोका र जीप चालक सूर्य केसीको शव बिहीबारै फेला परेको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाका अनुसार उपाध्यक्ष रोकाकी छोरी जेनिशाको खोजी कार्य अहिले पनि जारी छ।
प्यूठानबाट काठमाडौं आउँदै गरेको संघका उपाध्यक्ष रोकासहित श्रीमती जमुना, छोरी जेनिशासहितका यात्रु सवार लु१च ९७३१ नम्बरको जीप बिहीबार बिहान मुग्लिनभन्दा करिब दुई किलोमिटरको दुरीमा त्रिशुलीमा खसेको थियो।
उपाध्यक्ष रोका त्रिशुलीमा पौडेर बाँच्न सफल भएका हुन्। रोकाको शरीरमा चोट लागेको छ। रोकाको अहिले चितवनमा उपचार भइरहेको छ। डिएसपी थापाका अनुसार रोकाको अवस्था सामान्य रहेको छ।
उपाध्यक्ष रोका छोरीको उपचारका लागि बुधबार राति काठमाडौंका लागि प्रस्थान गरेका थिए। पत्थरीको शल्यक्रिया गरेकी जेनिशालाई संक्रमण देखिएपछि उपचारका लागि काठमाडौं ल्याइएको थियो।
पौडिएर ज्यान जोगाएका रोकालाई प्रहरीले उद्दार गरी अस्पताल पठाएको थियो। बेपत्ता जेनिशाको खोजीका लागि गोताखोरसहितको प्रहरी टोली परिचालन गरिएको डिएसपी थापाले बताएका छन्।
अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष रोका अगुवा वामपन्थी नेता चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाका युवा नेता पनि हुन्।