दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगलाले नेपाल र भारत मिलेर काम गर्न आवश्यक रहेको बताएका छन्। एसियन इनस्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल अफेयर्सले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा श्रृंगलाले नेपाल–भारत सम्बन्धबारे बोल्दै दुई देशबीच सशक्त सहकार्यमुखी सम्बन्ध आवश्यक रहेको बताएका हुन्।
कोरोना महामारीमा पनि दुवै देशसँगै रहेको र मिलेर लड्नुपर्नेमा उनले जोड दिएका छन्। उनले भारतमा अहिले पाँच वटा कोरोना भाइरसको खोपको अनुसन्धान भइरहेको बताए। भारतमा खोप आउनसाथ नेपालको आवश्यकतालाई प्राथमिकता दिइने उनले बताए।
उनले भारतमा नरेन्द्र मोदी नेतृत्वमा सरकार बनेपछि राजनीति र कूटनीतिक रूपमा दुई देशबीच भ्रमण बढेको र त्यसले सम्बन्धलाई बलियो बनाएको बताए। परम्परागत सम्बन्धदेखि २०७२ को भूकम्प र अहिलेको कोरोनाभाइरसमा पनि भारतले नेपाललाई सक्दो सहयोग गरेको बताए।
बिहीबार बिहान नेपाल आइपुगेका श्रींगलाले हिजै महत्वपूर्ण राजनीतिक र कूटनीतिक भेटवार्ता गरेका छन्।
उनी आज गोरखामा र मनाङ पुगेर भारतीय सहयोगमा पुनर्निमार्ण भएका विद्यालय, निजी घर र गुम्बा उद्घाटन गर्ने कार्यक्रम छ। श्रींगला आजै स्वदेश फर्किने भएका छन्।