नेपाली कांग्रेसलाई मोरङमा शक्तिशाली बनाउन अहोरात्र खटिने एक योद्धाको निधन भएको छ। नेपाली कांग्रेस मोरङ १ ‘ख’का सभापति ईश्वरीप्रसाद कोइरालाको शुक्रबार निधन भएको हो।
कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। उपचारपछि पिसिआर रिपोर्ट नेगेटिभ आए पनि स्वास्थ्य आएन।
नोबेलको आइसियु कक्षमा उपचाररत कोइरालाको शुक्रबार बिहान निधन भएको हो। निमोनियाबाट ग्रस्त भएपछि स्वास्थ्य थप जटिल भएको थियो।
कोइरालाका दाजु गोपाल कोइरालाको पनि बिहीबार निधन भएको थियो। लेटाङ घर भएका नेता कोइराला विकासप्रेमी नेताका रुपमा स्थापित छन्।
नेपाली कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बूका अनुसार नेता कोइरालाले पार्टी संगठन निर्माणका लागि लामो समयदेखि सशक्त रुपमा योगदान दिँदै आएका थिए।
‘जनताको पक्षमा सधैं लड्ने नेता कोइरालाको निधनले सिंगो कांग्रेसजन शोकमा परेको छ, पार्टीले उहाँको योगदानको सधैं स्मरण गर्ने छ,’ सभापति लिम्बूले भने।
नेपाली कांग्रेस मोरङका महासमिति सदस्य समेत रहेका ६३ वर्षीय कोइरालाको मोरङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ मा प्रदेशसभा सदस्य पदका उम्मेदवार समेत हुन्।
यसैबीच नेपाली कांग्रेसले पनि काेइरालाकाे निधनप्रति दु:ख व्यक्त गरेकाे छ। ‘उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । उहाँको निधनबाट पार्टीले एक होनाहार व्यक्तित्वलाई गुमाएको छ,’ कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको वक्तव्यमा भनिएको छ।
‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ, पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा स्वर्गीय कोइरालाले पुर्याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै सभापति देउवाले उहाँमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु भएको छ, साथै उहाँको आत्माको चिर शान्तिको कामना गर्दै सबै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गर्नु भएको छ,’ वक्तव्यमा भनिएको छ।