दुई दिने नेपालको औपचारिक भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवद्र्धन श्रींगला गोरखा पुगेका छन्। नेपाली सेनाको हेलिकप्टरमा शुक्रबार गोरखा पुगेका उनले त्यहाँ भारत सरकारको आर्थिक सहयोगमा बनेको तीन वटा विद्यालय भवन उद्घाटन गरेका छन्।
गोरखा नगरपालिका वडा नम्बर ८ लक्ष्मीबजारमा महालक्ष्मी मावि, वडा नम्बर ८ डुम्रीडाँडामा रत्नलक्ष्मी मावि र वडा नम्बर १० छेवेटारमा तारा माविको भवन भारतीय सहयोगमा हालै पुनर्निर्माण सकिएको थियो। शुक्रबार महालक्ष्मी माविमा आयोजित कार्यक्रममा विदेश सचिव श्रींगलाले संयुक्त रूपमा तीन विद्यालय भवन उद्घाटन गरेका हुन्।
उनले नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाहको जन्मस्थल गोरखा आउन पाउँदा खुसी लागेको बताए। हरेक वर्ष भारत सरकारले सात हजार नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिँदै आएको उनले बताए। भारत सरकारको सहयोगमा गोरखा र नुवाकोटमा ५० हजार निजी घर पनि निर्माण हुँदैछ। अहिलेसम्म ४६ हजार घर निर्माण सम्पन्न भइसकेको छ।
स्वास्थ्य क्षेत्रमा पनि सहयोग गरेको बताउदै श्रृगंलाले नेपालको दश जिल्लामा ४७ वटा स्वास्थ्य चौकी भवन भारत सरकारको सहयोगमा बनेको जानकारी दिए। जसमध्ये ३० वटा गोरखा जिल्लामा रहेको उनको भनाइ छ।