सरिता तिवारी नेपाली कवितामा सशक्त अभिव्यक्ति क्षमता भएकी विशिष्ट कवि हुन्। उनका अस्तित्वको घोषणापत्र (२०६७) र प्रश्नहरूको कारखाना (२०७२) दुई कविता सङ्ग्रहले पाठकमाझ निकै चर्चा पाएको छ। प्राध्यापन पेशामा संलग्न तिवारी सामाजिक सांस्कृतिक रुढिविरुद्ध शब्दहरूको अस्त्र प्रक्षेपणमा कुशल छिन्। प्रस्तुत छ, डा. गीता त्रिपाठीले नेपाली पब्लिकका निम्ति कवि तिवारीसँग गरेको कुराकानी:
सरिताजी, अस्तित्वको घोषणापत्रले स्थापित गरेको यहाँको कवि व्यक्तित्वलाई प्रश्नहरूको कारखानाले विचार र कला दुवै पक्षबाट ‘नन अदर देन...’ को पाठकीय अनुभूतिमा पुर्याएको छ, यहाँ आफैले चाहिँ यी दुई कविता सङ्ग्रहका बीचको विचार र कलालाई कसरी तुलना गर्नुभएको छ?
-मानिस विचारका भिन्नभिन्न तह र चरणबाट पार भएर अगाडि बढ्छ। कोही पनि र केही पनि एकैचोटि बन्दैन। यसलाई क्रमिक विकास पनि भन्न सकिएला। अस्तित्वको घोषणापत्रमा मेरा विचारहरूले ठोस आकार लिन नभ्याउँदैका कविताहरू बढ्ता छन्। तथापि, प्रश्नहरूको कारखानाका कविताहरू पनि मेरा विचारका अन्तिम किनारा हुन् भन्ने भ्रममा भने म छैन। ती मेरो आजको समयसम्मका विश्वास हुन्।
पछिल्लो किताबका कविताहरूसम्म आइपुग्दा मैले आफूलाई, आफैँले हिँडिआएको बाटोलाई राम्रोसँगले ‘रिभ्यु’ पनि गरेकी हुँ भन्ने म ठान्छु। यसकारण पनि सायद पछिल्लो किताबका कवितामा म ज्यादा ‘भोकल’ भएँ कि ! यसरी मुखरताको पथमा हिँड्दा कलाको बाटो साँघुरिन्छ भन्छन्, जान्नेहरू। यसबारेमा म केही घोषणा गर्न सक्छु जस्तो लाग्दैन। म आफ्ना अनुभव मात्रै भन्न सक्छु। बाँकी त मेरा दुवै किताब मसिनो गरी पढेका पाठकहरूले भन्न सक्नुहुन्छ। खास त विचार भन्नु नै त हो कविता लेख्नु। अर्थात् लय र विम्बमा केही गम्भीर कुरा गर्नु हो। कुरा गराइमा पनि त काल, बेलाअनुसार शान्त, करुण वा रौद्र आदि रसको उत्पादन हुन्छ। कविता तीभन्दा भिन्न कसरी हुन्छ? प्रश्नहरूको कारखानासम्म आइपुग्दा मेरो विवेकलाई राजनीतिक, सांस्कृतिक र मनोसामाजिक विम्बहरूले बढ्ता निर्देशित गरे।
एउटा ठूलो बलिदानबाट आएको राजनीतिक परिवर्तनपछि परिवर्तनको उद्दाम चाहनालाई सांस्कृतिक चैतन्यमा समेत संस्थागत गर्ने मनोविज्ञानले निर्देशित गरे। यसलाई पक्षधरता पनि भन्न सकिन्छ। मलाई के लाग्यो भने मेरो एउटा स्पष्ट पक्ष हुनुपर्छ। म के सोच्छु, कसरी सोच्छु? त्यो मेरा कविताले भन्नुपर्छ। एउटा लेखकका रूपमा म स्वयम् आफू र आफ्नो जुगप्रति जिम्मेवार बन्नुपर्ने दायित्वबाट भाग्न सक्दिनँ। यसो गर्दा अभिव्यक्तिमा आफ्नो सामथ्र्यले भ्याएका अधिकतम् शिल्प उपयोग गरेँ भन्ने नै लाग्छ। तर, कवितालाई कलात्मक बनाउन विचारका हातगोडा नै भाँचिदिने, त्यसको हृदयलाई नै स्पन्दनहीन बनाइदिने शब्दखेल गर्न मैले सकिनँ। अघिल्लो र पछिल्लो किताबमा जेजस्ता भिन्नता छन्, ती समय, सन्दर्भ र मेरो कलाचेतनाको विकासक्रमका कारण भएका हुन् भन्ठान्छु।
सरिता तिवारीका कविताको विश्लेषणका निम्ति मूलरूपमा कुन कुन सिद्धान्त उपयोगी हुने ठान्नुहुन्छ?
-वाद र सिद्धान्त पश्चगामी हुन् भने सिर्जना अग्रगामी। तर, सिर्जनाको कच्चा मालमा प्रच्छन्न रूपले सिद्धान्त अन्तर्घुलित हुन्छ। मानिसहरू वाद, सिद्धान्त सोचेर लेख्दिनँ भन्छन्। मलाई लाग्छ, तिनीहरू कि त पाठकलाई ढाँटिरहेका छन् कि चाहिँ आफैँ भयानक बेवकुफ छन्। मेरा कविता सामाजिक न्यायको उदात्त आग्रहका लागि उत्पादन भएको हनुपर्छ भन्ने मेरो ठम्याइ हो। यिनमा माक्र्सवाद मात्रै एक्लो छैन। कतिपय अवस्थामा पहिचानवादी स्वर आएका होलान्, कति ठाउँमा स्त्रीत्वको अपेक्षित ‘माइल्ड’ र कमनीय भाव नआई विद्रोह वा नारीवादको चर्को उपस्थिति होला।
वादको मिटर लगाएर हेर्दा म शुद्ध माक्र्सवादी पनि नदेखिन सक्छु। यो मेरो चिन्ताको कुरो होइन जस्तो लाग्छ, मलाई लेबल लगाइरहनुपर्नेको चिन्ता हो। ‘इन्डिभिजुअल्ली’ विश्लेषण गर्दा एउटै कवितालाई फरक फरक समालोचना सिद्धान्त उपयोग गर्न सकिने ‘स्ल्यास बटन’ मेरा केही कविताहरूमा अवश्य छन्। यो पूरै प्रायोजित भने होइन, लेख्दै जाँदा भएको हो। म आफूलाई इतिहासदेखि अर्घेलो बेहोरेका सबै किसिमका उत्पीडितको पक्षधर भन्न रुचाउँछु। त्यसलाई उपयोगी हुने सुविधाजनक सिद्धान्त जे होलान् मेरा रचना तिनैका वरिपरिबाट हेरिन्छन् होला। खासमा, यो पनि मैले सोच्ने विषय होइन। म आफ्नो लेखनप्रति ‘एकाउन्टेबल’ हुने कि नहुने? मेरो लागि यो कुराले बढ्ता अर्थ राख्छ।
यहाँलाई कविले कविता रचना प्रक्रियामा अपनाउनुपर्ने मुख्य तीन कुरा के के हुन् भन्ने लाग्छ?
-मेरो अनुभवमा कविताको रूप हाम्रो मानसको अवस्थाले तय गर्छ। कविलाई कुनै कुरा, कुनै घटना र प्रसंगले ‘स्ट्राइक’ गरेपछि पहिलो लिखत तयार गर्छ। त्यसलाई खेस्रा कविता भन्न सकिएला। यदाकदा खेस्रा भनिएकै रूप अन्तिम पनि हुनसक्छ। मतलब असम्पादित चोखो भाव ! म पनि कुनै कविता यत्तिकै छोडिदिन्छु। किनभने, तिनलाई थप चलाउन मन हुन्न।
र, अधिकांश कवितालाई केहीपटक पढेर पछि मात्रै अन्तिम रूप दिन्छु। अरूलाई सुनाएर अरूको सुझावअनुसार सच्याउने, सम्पादन गर्ने पनि गरिन्छ भन्छन्। तर, यस्तो मलाई मन पर्दैन। सुझावअनुसार एकादुई शब्द वा विम्बमा सामान्य हेरफेर गर्न भने सकिन्छ। कविता धेरै पटक सम्पादन गर्ने विधा होइन। धेरै खेल्न थालेपछि त्यसको आत्मा अर्थात् संवेदनाकेन्द्रको लय भत्कन्छ। यो यथासक्य प्राकृत हुनुपर्छ। धेरै सिँगार्न खोज्दा कविता नक्कली र बोझिलो हुनसक्छ। हैन र?
समकालीन नेपाली समालोचनाका चुनौती र सम्भावनामाथि यहाँको दृष्टिकोण राखिदिनुहोस् न?
-हाम्रो समालोचना पद्धतिहीनताको डरलाग्दो रोगले ग्रस्त छ। प्रभावपरक समालोचनाले खर्लप्पै खाएको स्थितिमा वस्तुपरक भनिएका समालोचकको उपस्थिति आशालाग्दो लाग्थ्यो। तर, हिजोआज त तिनीहरूको लेखन देखेर झन् दिक्क लाग्छ। वस्तुपरकताको नाममा तथाकथित काइते तटस्थता र तदर्थ मानसिकताले तिनलाई शिरदेखि पाऊसम्म गाँजेको छ। प्रतीत हुन्छ, अनुभव हुन्छ, देखिन्छ, भन्न सकिन्छ जस्ता अनिश्चयवाचक ‘क्लिचे’को माला लगाएका समालोचक देखेर वाक्कै लाग्छ।
आलोचकीय ‘गट्स’ र निर्भिकता नभएपछि समालोचक परजीवी कीराजस्तो हुँदोरहेछ। विश्वविद्यालयमा जागीर पकाउने, टेबल वर्कको नाममा उही एकनासे ‘सुसेधन्धा’ गर्ने र त्यत्तिको भरले ‘वरिष्ठ’ हुन पाइने। हाम्रा अभ्यास यस्तै छन्। कुन मठाधीशले कुन योजनामा नाम राख्देला र लेखिखाउँला भन्ने आशे भएपछि आलोचक भ्रष्ट हुन्छ। आलोचक नै आशाखेतीको अल्छे खेतालो भएको देशमा लेखकले गतिलो नलेखे पनि भइहाल्यो।
साहित्यलाई गहिरोसँग आत्मसात् गर्न सक्ने प्राज्ञ, ऊर्जाशील र निर्भिक अभिव्यक्तिले नयाँ दिशाबोध गर्न सक्ने प्रखर आलोचक हो हामीलाई चाहिएको। यो कुनै व्यक्तिको कुरा होइन, पद्धतिको हो। पद्धति बसाल्न एउटा सिंगो पुस्ता प्रतिबद्ध भएर लाग्नुुपर्छ।
साहित्यमा मिथक प्रयोगको औचित्य के हो? यहाँका कवितामा प्रयुक्त मिथकको स्वरूप कस्तो छ?
साहित्यमा मिथक अतिततर्फ फर्कनका लागि र विचार विलासका लागि मात्रै आउनुहुन्न भन्ने म ठान्छु। मतलब, मिथक प्रयोग वर्तमान जीवनसित प्रासंगिकताका लागि हुनुपर्छ। मिथहरूबारे गहिरो जानकारी नभई मिथक प्रयोग गर्नु कतिपय अवस्थामा दुर्घटना नै सावित हुनसक्छ। हामी कतिपय इतिहासका पात्रहरूलाई मिथक र प्रतीकका रूपमा प्रयोग गर्छौं तर अब इतिहासकै पुनःव्याख्या गर्ने आग्रह बलियो हुँदै आएका बेला मिथक प्रयोगमा बडो सतर्क हुनुपर्ने अवस्था छ।
उदाहरण नै दिनुपर्दा म आफैँले उपयोग गरेका ‘कोलम्बस र महिसासुर’जस्ता मिथकबारे कविता लेख्दाको समय र अहिले मेरा धारणा फरक छन्। म उतिसारो मिथकसँग खेल्दिनँ। तर, जति प्रयोग गरेकी छु, ती प्रायः इतिहासका पात्र र घटना छन्। केही चाहिँ पुराणहरूबाट छन्। म वर्तमान जीवनका जटिलतासित जोड्न मिथकहरूलाई ल्याउँछु।
सरिता तिवारीले कविका रूपमा प्राप्त गरेको विरासत कति फराकिलो छ ?
-त्यसको चौडाइ नाप्ने औकात मसित के होला र? मैले लेखेकै कति छु र? बच्चाका थाङ्ना पखाल्दा पखाल्दै, भाँडा माझ्दै, लुगा धुँदै चिसै हातले लेखेका केही अकिञ्चन कविताकै भरमा कविका रूपमा आफ्नो विरासत आँक्ने ह्याउ मसँग छैन। बल्ल बच्चाहरू हुर्केका छन्। आमाका रूपमा आफ्ना न्यूनतम् भूमिकाको यात्रा पार गरेकी छु। म त बल्ल आफ्नो क्षितिज छुन निस्कँदै छु। भोलिका दिनमा केही भन्न सकुँला कि?
अर्थतात्त्विक हिसाबले यहाँका कविताको अन्तिम सत्य के हो?
बडो गाह्रो प्रश्न ! मैले चाहेको न्यायपूर्ण र उदात्त सामाजिक व्यवस्था हो। परिवार, समुदाय वा देश र विश्व जहाँसुकै पनि होस्, शासकविनाको पद्धति होस्। कसैले कसैको दासत्व भोग्न नपरोस्। कम्युनिष्टहरूले भनेजस्तै मानिसको अन्तर्राष्ट्रिय जाति होस् तर फेरि कसैको अधिनायकत्व चाहिँ नहोस्। किनभने, सर्वहाराका नाममा केही विशिष्ट अख्तियार प्राप्त व्यक्तिहरूको अधिनायकत्व पनि संसारले भोगिसकेको छ।
मलाई थाहा छ, तयारी नूडल्स जस्तो गरी कविताबाट ठ्याक्कै मैले सोचेजस्तो संसार ‘इन्स्ट्यान्ट’ स्थापित हुने होइन। मलाई मानिस बनेर बाँच्नु छ, बस्। अरूको पनि मानिस बनेर बाँच्ने जन्मसिद्ध अधिकारको सम्मान गर्नु छ। त्यसका लागि सामूहिक लडाइँको हिस्सेदार बन्नु छ ता कि एकपटक मात्रै पाइने जीवनको अन्तिम सास निस्कने बेला सन्तोषले आँखा चिम्लिन सकियोस्।... हा, यति त गरियो ! भन्न सकियोस्।
कवितामा गतिशील चेतना प्रवाह गर्न सक्ने पावरफुल कवि सरिता कविता बाहिरको परिवेशमा एक प्रकारको गतिरोधमा छिन् भन्ने आलोचकका निम्ति यहाँको वास्तविक उत्तर के होला?
म पनि व्यक्ति हुँ। मसित रिस, प्रेम, आक्रोश, करुणा जम्मै भाव छन्। म जोगी होइन, सांसारिक भुक्तमानको सहभागी हुँ। म भान्सामा नपसे छोराछोरी भोकै सुत्नुपर्छ। दिनभर जागीर र घरका काम गरेर थाक्छु। तर, निद्रा खेर फालेर पनि केही लेखपढको उद्यम गर्छु।
एक राजनीति-सचेतन व्यक्ति हुनाका साथसाथै म संगठक पनि हुँ। किनभने त्यो जरुरी छ। म एक्लै दगुर्न होइन, आफूजस्तै साथीहरूसँग संवाद गर्दै हिँड्न रुचाउँछु। महिनौँसम्म कोठाभित्रै हराएर साहित्यको महासाधना गर्ने सुविधाप्राप्त ‘प्रिभ्लेज्ड’ हुने ल्याकत पनि त छैन मसित। मलाई आफ्ना अनेक सीमालाई दृष्टिगत गर्दै आफूजस्तै बन्नु छ। त्यसो गर्न आफैँले आफूलाई चिन्नुपर्दो हो। म आफूलाई चिन्छु। अरूले जे कुरालाई गतिशीलता ठान्छन्, ती सायद व्यक्तिवादी परिचय विस्तारका आयाम होलान्।
नाम र ख्यातिका आयतन होलान्। पद र प्रतिष्ठाका अवसर होलान्। त्यसरी हेर्दा म अवरुद्ध देखिन सक्छु। मलाई यसरी सोच्ने आलोचकलाई कुनै उत्तर दिनुपर्छ भन्ने लाग्दैन। त्यो उहाँहरूलाई लागेको कुरा हो। यसमा म के गर्न सक्छु र?
देशले रक्तपातपूर्ण इतिहासको अन्त्य मागिरहेका बखत अबको साहित्यको विषय के हुनुपर्छ भन्ने प्रश्नहरू चारैतिरबाट उठ्न थालेका छन्, सरिताजी, यो प्रश्नको कस्तो उत्तर दिँदा वर्तमानमाथि न्याय हुन्छ भन्ने ठान्नुहुन्छ?
इतिहासको समीक्षा त हरबखतै हुन्छ। हिजोको मात्रै होइन, आजको आजै पनि हुँदै जानुपर्छ। जस्तो कि रक्तपातपूर्ण इतिहासकै कुरा गरौँ। त्यो यत्तिकै रचित चक्रब्यूह मात्रै थिएन, जुगको खाँचो थियो। त्यो कसैको बहुलट्ठी योजना सफल पार्न मात्रै निर्मित थिएन। कसैका महत्वाकांक्षाको पूर्तिका लागि मात्रै पनि थिएन। त्यो हुनु थियो।
नभए नेपाली समाजका हड्डी र मासुभित्र पसेर संरचित दासता, दमन र अन्यायको हजारौँ वर्ष पत्र परेर बसेको सिलसिला कसरी उदाङ्गो हुन्थ्यो? मानिसहरूमा यति धेरै प्रश्नहरू रहेछन् ! यति धेरै आवाजहरू रहेछन् ! आज बोली फुटेर निस्केका, हिमाल र पहाडमा ठोक्किएर उपत्यका र तराईभरि छरिएका यी आवाजको लय बेलैमा चिन्न सकिएन भने ढिलोचाँडो इतिहास दोहोरिन सक्छ। त्यसको रूप भिन्न हुन सक्ला। त्यसैले निरपेक्ष मौन, निरपेक्ष सहिष्णुता भन्ने कुरा गर्नु इतिहासको गतिसँग बेखबर हुनु हो।
वर्तमानका ध्वनिको उपेक्षा गर्नु हो। हाम्रो आजको लेखन विचारहरू बीचको दृढ र सापेक्ष सहिष्णु संवादप्रति लक्ष्यित हुनुपर्छ भन्ने म ठान्छु। शासकका दृष्टिबाट मात्रै लेखिएका सौन्दर्यशास्त्र, इतिहास र साहित्यलाई अलि वर्ष जनताको कथनसित, लोकसँग गाँसेर पुनर्लेखन र पुनःव्याख्या गर्ने काम भए भने आजका साहित्यले आगतलाई अलि फराकिलो र उदार बनाउँछ कि?
कविता लेखनमा सिकारु हुँदा र कवितामा उचाइ पाइसकेपछि प्राप्त भएका व्यवहारबीच यहाँको अनुभव कस्तो रह्यो? बताइदिनुहोस् न!
रमाइलो प्रश्न ! सिकारु र अभ्यस्त त के भन्नु खै? मलाई त उचाइ पाएको भन्नेजस्ता कुराले कस्तो कस्तो सरमजस्तो लाग्छ। तर, एउटा कुरा निश्चित हो, पहिले केही लेखेपछि अरूतिर हेरेर प्रतिक्रियाको आशा गरिन्थ्यो। कसैले एउटा धाप मात्रै दिए पनि संसारै पाएँजस्तो लाग्थ्यो। आज आफ्नो पथप्रदर्शक, आफ्नो अभिभावक आफैँ भएजस्तो लाग्छ।
अब जे हुन्छ, आफ्नै इच्छाशक्तिले हुन्छ जस्तो लाग्छ। अब धाप दिने, स्याबास्, क्याबात् भनेर फुक्र्याउने को हुन्छ र? अब त चोकैपिच्छे आलोचक मात्रै भेटिन्छन्। कहिलेकाहीँ त आफू पनि आफ्नै आलोचक नै बढी भइयो कि जस्तो लाग्छ।
यहाँका कवितामा वर्गीय र लैङ्गिक विभेद अन्त्यका लागि सबल स्वर प्रकट भएको पाइन्छ, कविताले नेतृत्व गरेको विभेद विरुद्धको आन्दोलन र राजनीतिले नेतृत्व गरेका विभेद विरुद्धको आन्दोलनबीच कस्तो भिन्नता पाउनुभएको छ?
हजुर ! ठूलो अन्तर छ। राजनीतिले समाजको हार्डवेयर बदल्छ, साहित्यले चाहिँ सफ्टवेयर बदल्ने वा बनाउने हो। राजनीतिले नेतृत्व गरेको आन्दोलनले ठूलै उपलब्धि ल्याउँछ। मानिसहरूको व्यापक समूहलाई प्रभावित गर्छ। साँच्चै भन्दा दिशाबोध नै गर्न नसकेका मजस्ता सामान्य कविलाई राजनीतिक आन्दोलनको ठूलो मोहोरीले नेपाली समाज र यसको वास्तविक रूप तथा चरित्रसित साक्षात्कार गराइदिएको मान्छु म।
राजनीतिलाई नाघेर वा बेवास्ता गरेर चुपो लागेर साहित्य लेख्ने कुरो सम्भवै रहेनछ वा लेखे पनि त्यसरी गरिएको लेखन जिब्रो चपाउने उद्योग मात्रै रहेछ भन्ने कुरा त आन्दोलनले नै बताइदिएको हो नि ! तर राजनीतिक आन्दोलनका कर्ताहरू जब इमान जमानको बाटो छोडेर पत्याउनै नसक्ने गरी चोर बाटो पक्रन थाल्छन्, कविताले नेतृत्व गरेको आन्दोलन झन्डै एक्लो हुन्छ। त्यहाँ टाढा टाढासम्म कोही देखिन्नन् केही जोदाहा कवि र लेखकबाहेक। हिजो क्रान्तिको सपना देखाउने नेतृत्व जब निर्लज्जतापूर्वक झुठ बोलेर करिअरवादी राजनीतिको पोखरीमा हाम फाल्न लागे, त्यो दृश्य मेरा लागि सबैभन्दा अश्लील थियो।
आज आएर राजनीति पनि एउटा व्यवसाय जस्तो बनेको छ। लेनदेन कारोबार जस्तो। साहित्य लेखन कहाँ यस्तो हुन्छ र ? कवि कदाचित् यसो गर्न सक्दैन। यसो गरे ऊ कवि रहन्न, बनियाँ बन्छ। दलाल बन्छ। आन्दोलन र विचारको मोहरीभित्रबाट निर्माण भएको कवि एक्लो भएर पनि ऊ एक्लै हुन्न। राजनीतिले नेतृत्व गरेको विभेद विरुद्धको आन्दोलनलाई सांस्कृतिक र रचनात्मक रूपमा जमिनमाथि उतार्ने त आखिर लेखक कवि नै त हुन्। उनीहरू राजनीतिक नेतृत्वभन्दा दृढ, धैर्य र जिम्मेवार हुनैपर्छ।