बारामा जगदम्बा स्टिल प्रा.ली.को फलाम गलाउने भट्टी पड्किँदा ४ जना घाइते भएका छन्। बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ सिमरास्थित भट्टीमा घटेको सो घटनामा परि घाइते भएकामध्ये १ जनाको अवस्था गम्भिर छ।
घाइते हुनेमा सर्लाहीको सक्रौल गाउँपालिका–६ बस्ने ४० वर्षीय बिकिन्द्र यादव, भारत मोतिहारी जिल्ला बस्ने अन्दाजी २६ वर्षीय नईमुदिन आलम, भारत शिवन ग्राम जिल्ला बस्ने ४८ वर्षीय जनक देव यादव र सर्लाही बरथवा नगरपालिका–५ बस्ने २८ वर्षीय मुकेश साह रहेका छन्।
बिकिन्द्र यादवको अवस्था गम्भिर रहेको छ भने अन्य तीन जना सामान्य घाइते भएका छन्। बिकिन्द्र यादवको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ।
आलम र जनक देव यादवको तराई अस्पताल सिमरामा र वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।