प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एक अध्यक्ष केपी शर्मा ओलीले खास–खास समयमा रातो कपडामा देखिन्छन्।
केही सन्देश दिने समय होस् या स्वास्थ्यसम्बन्धी समस्याले पिरोलिँदा होस्, ओलीले रातो पोसाकमा देखिन्छन्।
यो तस्वीर गत वर्ष मिर्गौला प्रत्यारोपण गरी फर्किंदाको हो। प्रधानमन्त्री ओलीले रातो ज्याकेट लगाएका थिए। नेकपाको मंसिर ३ गतेको सचिवालय बैठकमा ओलीले रातो ज्याकेट लगाएका थिए।
प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको सचिवालय बैठक बसिरहेको छ। बैठकमा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उठाएका सवालमा जवाफ दिने छन्।
ओलीको टेबुलमा एउटा रातो झोला छ। बालुवाटार श्रोतका अनुसार प्रचण्डलाई जवाफ दिनका लागि तयार पारेको प्रतिवेदन ओलीले त्यही रातो झोलामा राखेका छन्।
नेकपाको आन्तरिक विवाद चुलिँदा एकताका लागि भएका प्रयास मेट्न दुई पक्ष लचिलो बन्नुपर्ने पार्टी कार्यकर्ताको माग छ।
आशा गरौं, ओली र प्रचण्डबीचको मतभेदपछिको मनभेद चाँडै अन्त्य हुने छ।
अब सचिवालयको प्रसंग, नेकपाको सचिवालय बैठक अहिले पनि चलिरहेको छ। बालुवाटारमा बसिरहेको बैठकमा कात्तिक २८ मा अध्यक्ष प्रचण्डले प्रेश गरेको प्रस्तावमाथि ओलीले जवाफ दिने छन्। प्रचण्डले पेश गरेको १९ पृष्ठको प्रतिवेदनका सन्दर्भमा ओलीले जवाफ दिने छन्।
ओलीले ३ गतेको सचिवालय बैठकमा जवाफमा दिनका लागि १० दिनको समय मागेका थिए। यसैगरी, नेकपाको स्थायी कमिटी बैठक मंसिर १८ गते र केन्द्रीय कमिटी बैठक पनि यही मंसिर २५ का लागि तय गरिएको छ।
नेकपा अध्यक्ष प्रचण्डसहित सचिवालयका ५ सदस्यले कात्तिक २८ को सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको आलोचना गर्दै १९ पेजको प्रस्ताव पेश गरेपछि पार्टी गम्भीर संकटतर्फ धकेलिएको छ।
मंसिर ३ गते बसेको नेकपा सचिवालय बैठक १० दिनपछि बस्ने गरी स्थगित भएको थियो। बैठकमा ओलीले आफूमाथि लागेका आरोपको बुँदा–बुँदा जवाफ दिने बताएका छन्।
तर, पार्टीभित्र अल्पमतमा परिसकेका ओलीले कांग्रेस र अन्य दलसँग सरकार गठनको छलफल चलाएर प्रचण्डसहित असन्तुष्ट नेताहरूलाई अझ आक्रोशित बनाएको नेकपाका नेताहरूको टिप्पणी छ।
यसअघि, प्रधानमन्त्री ओलीले सचिवालय बैठकमा आफूमाथि लगाइएका आरोप आफूले सहन नसक्ने बताएका थिए। उनले आरोप हल्का ढङ्गले लगाइएका रुपमा नलिएको समेत बताएका छन्।
सो ‘आरोप पत्र’ फिर्ता नभएसम्म अर्को बैठकमा नबस्ने अडान लिए पनि मंसिर ३ को सचिवालयमा अन्तिम समयमा बैठकमा सहभागी भएका ओलीले १० दिनपछि त्यसको जवाफ दिने बताएका थिए।
सोही तयारी अनुरुप आज नेकपाको सचिवालय बैठक बसेको हो।