सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफी प्रस्ताव पेस गरेका छन्। शनिबार सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले जवाफी प्रस्ताव पेस गरेका हुन्।
प्रधानमन्त्री ओलीले पेश गरेको जवाफी पत्र सचिवालय सदस्यहरुलाई अध्ययनका लागि दिइएको छ। प्रधानमन्त्रीको प्रस्ताव खाममा राखेर सचिवालय सदस्यहरुलाई दिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। सचिवालय सदस्यहरुले सो प्रस्तावमाथि अध्ययन गरिसकेपछि मंसिर १६ गते दिउँसो एक बजे सो प्रस्तावबारे छलफल गरिने छ।
अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका ५ सदस्यले कात्तिक २८ कै सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको आलोचना गर्दै १९ पेजको प्रस्ताव पेश गरेका छन्। दुवै प्रस्तावको अध्ययन गरेर अर्को बैठक बस्नेगरी सचिवालय बैठक सकिएको प्रवक्ता श्रेष्ठले बताए।
यसअघि, प्रधानमन्त्री ओलीले सचिवालय बैठकमा आफूमाथि लगाइएका आरोप आफूले सहन नसक्ने बताएका थिए। उनले आरोप हल्का ढङ्गले लगाइएका रुपमा नलिएको समेत बताएका छन्।
सो ‘आरोप पत्र’ फिर्ता नभएसम्म अर्को बैठकमा नबस्ने अडान लिए पनि मंसिर ३ को सचिवालयमा अन्तिम समयमा बैठकमा सहभागी भएका ओलीले १० दिनपछि त्यसको जवाफ दिने बताएका थिए।
सोही तयारी अनुरुप आज नेकपाको सचिवालय बैठक बसेको हो।